हेटौँडा : संघीय सरकारको घोषणाअनुरुप हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले कर्मचारीलाई १५ दिनमै तलब भुक्तानी गरेको छ । बैशाख महिनाको १५ दिनको तलब आज बिहिबार (बैशाख १७ गते) भुक्तानी गरिएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो ।
‘संघीय सरकारको घोषणापछि हामीले आवश्यक तयारी गर्यौं’, अध्यक्ष विष्टले भन्नुभयो, ‘पहिलो पटक भएकोले केही ढिलो भएर आज बैशाख १७ गते १५ दिनको तलब भुक्तानी गरेका छौं । अबदेखि हरेक १ गते र १५ गतेकै दिन तलब भुक्तानी गर्छौं ।’ पाक्षिक रुपमा तलब भुक्तानी गर्दा कर्मचारीको खर्च व्यवहार सहज हुनुका साथै आन्तरिक अर्थतन्त्र पनि चलायमान हुने विश्वास लिइएको अध्यक्ष विष्टले बताउनुभयो । संघीय सरकारको अर्थ मन्त्रालयले बैशाख ४ गते १५ दिनमा तलब रकम भुक्तानी गर्न परिपत्र गरेको थियो ।
सबै प्रकृतिका कर्मचारीलाई एकसाथ रकम भुक्तानी गरिएको अध्यक्ष विष्टले बताउनुभयो । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा स्थायी, करार, अस्थायी र दैनिक ज्यालादारी गरी १ सय ४ जना कर्मचारी कार्यरत छन् । १५ दिनको आधारभूत तलब वापत १९ लाख १२ हजार रुपैयाँ भुक्तानी गरिएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका लेखा प्रमुख एवम् सूचना अधिकारी संजय कुमार न्यौपानेले जानकारी दिनुभयो ।
आधारभूत तलब १५ दिनमा वितरण गरे पनि सञ्चयकोष, सामाजिक सुरक्षा कोषमा मासिक रुपमै दाखिला गर्नुका साथै अन्य भत्ताहरु मासिक रुपमै वितरण गरिने बताइएको छ । संघीय खानेपानी मन्त्रालयमातहतको बोर्ड नै सम्भवतः १५ दिनमा तलब वितरण गर्ने मकवानपुर जिल्लाको पहिलो कार्यालय हो ।











