श्यामबहादुर थापा

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य बजारको पश्चिमपट्टि राप्तीपुल छ । राप्तीपुल पार गरेपछि उत्तरतर्फ ड्याम छेउमा एउटा जस्ताको छानो हालेको टहरो छ, जहाँ श्यामबहादुर थापाको परिवार बस्दछन् ।

विगत ५ वर्षदेखि हेटौंडामा मागेर श्यामबहादुरको परिवारको पेट पालिएको छ । ‘बिहान उठ्यो, माग्न हिँड्यो । माग्दा कसैले १०–२० रुपैयाँ दिए चामल किनेर ल्याएर खान पाइन्छ । नत्र भने उही’, ७० वर्षीय श्यामबहादुर पीडा व्यक्त गर्दछन् ।

श्यामबहादुरको श्रीमती कमलाले आँखा देख्दिनन् । उनीहरुले पालेको छोराको पनि मानसिक अवस्था ठिक छैन । आफ्नै छोरा भने परिवारसहित कमानेमा बस्छन् । उसको छुट्टै परिवार छ । बालबच्चा छ । छोराले महिनामा एकपटक आफूहरुलाई भेट्न आउने गरेको बताउँछन्, श्यामबहादुर । ‘छोरो आउँदा गुन्द्रुक, चामल, तरकारी लिएर आउने गर्छ’, कमलाले आँखाभरी आँशु पारेर भनिन् ।

‘उमेर छँदा ३ ठाउँमा भाँडा माझेरै भए पनि परिवार चलाइरहेका थियौं,’ कमलाले भनिन्– ‘काम गर्न सकुञ्जेल खानलाई दुःख भएन । जब आँखा देख्न छाडेँ, दुःख भयो । उमेरले वृद्धभत्ता आउने भएपनि उनीहरुसँग नागरिकता छैन । श्यामबहादुरले हेटौंडा ५ बाट नागरिकता लिएको बताए पनि अहिले हराएको भन्छन्, उनी । काठमाडौंको गोकर्णमा जन्मेका श्यामबहादुर १४ वर्षको उमेरदेखि हेटौंडा आएर काम गरे । रिक्सा चलाए । भारी बोके ।

‘अहिले धेरै दुःख छ’, श्यामबहादुर भन्छन्– ‘कसैले माग्दा दिएमा घरको चुलो बल्छ, नत्र उही । कालो प्लाष्टिकले छाएको उनको भान्छाघर छ । भान्छाघरमा आफूले पालेको छोरोले खाना पकाउँछ ।’ सानैदेखि पालेको छोराको धेरै माया लाग्छ । कोहीकोही व्यक्तिले आफू बसेको टहरामा आएर चामल दिने गरेको सुनाउँछन्, श्यामबहादुर । हेटौंडाको तरकारी मन्डीबाट एक बहिनीले तरकारी ल्याइदिने गरेको पनि उनले बताए । केही व्यक्तिले सहयोग गरिरहेको बताउँदै सहयोग गर्नेलाई उनले धन्यवाद दिए ।

मानवसेवा आश्रमलमा गएर बस्न आग्रह गर्दा आफू आश्रममा बस्न कदापि नजाने श्यामबहादुरले बताए । लामो समयदेखि हेटौंडा–११ स्थित थानाभर्‍याङको तौलपुलमा श्रीमती मागेर केही पैसा जुटाइरहेको भए पनि अहिले तौलपुल बन्द भएपछि माग्ने ठाउँ पनि नपाइएको गुनासो उनले गरे । आँखा नदेख्दा धेरै समस्या भइरहेको कमलाले बताइन् । ‘कतै जान एक्लै सकिन्न । काम गर्न सकिन्न । सकेको भए अझै काम गर्ने आँट छ’, उनले भनिन् ।

उनीहरुको यस्तो अवस्थाबारे हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयले अनविज्ञ रहेको जानकारी दियो । ११ नम्बर वडा सदस्य जुना दाहालले अब उनीहरुका लागि खाना, नाना र छानाको उपयुक्त व्यवस्था गर्न पहल गर्ने बताइन् । यसअघि वडामा जानकारी नआएको भन्दै वडासँग पनि त्यस्तो खर्च गरेर राख्ने व्यवस्था गर्न बजेट नभएको भन्दै हेटौंडा उपमहानगरपालिकासँग सहकार्य गरेर सहयोग गर्ने प्रतिबद्धता जनाइन् । यसअघि उनीहरुको बारेमा धेरै सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए । गाँस, बास र कपासजस्ता न्यूनतम आधारभूत आवश्यकताको अभावमै उनीहरुको जीवन गुज्रिरहेको छ ।