हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका सडकमा रहेका अव्यवस्थित तारहरु व्यवस्थित बनाउने अभियान सुरु गरेको छ । विद्युत् तथा टेलिफोनका पोलहरुमा इन्टरनेट तथा केबल टिभी सेवाप्रदायकहरुले जथाभावी टाँगेको तारलाई व्यवस्थापन गर्ने कार्य सुरु गरेको हो । उपमहानगरपालिका क्षेत्रमा धेरैवटा इन्टरनेट सेवाप्रदायकहरुले आ–आफ्नो सेवा विस्तारका क्रममा एउटै पोलमा दर्जनौं तारहरु टाँग्ने र बढी भएका तारलाई पोलमा गुजुल्ट्याएर छाड्ने गरेका कारण नगरको सौन्दर्यमा नकारात्मक असर परिरहेको छ । धेरैवटा तारहरु एउटै पोलमा टाँग्दा आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढ्दै गएपछि उपमहानरपालिकाले तार व्यवस्थापनमा चासो देखाएको छ ।

नेपाल विद्युत् प्राधिकरण तथा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) का पोलहरुमा अन्य सेवाप्रदायकले पनि तार टाँग्दै आएका छन् । व्यवस्थापन शब्द जति आकर्षक छ, कार्यान्वयमा त्यति नै चुनौती छ । विद्युत्, टेलिफोनदेखि केवल टिभी तथा इन्टरनेट तारमार्फत् नै सेवा दिइनुपर्ने छ । साँघुरा सडकमा पनि सबै प्रकारको सेवाका लागि तारहरु टाँग्नुपर्ने बाध्यता छ । सुरुवाती चरणमा टेलिफोन र बिजुलीका पोलहरु फरक हुने गर्दथे, तर पछिल्लो सयम सबै तारहरु एउटै पोलमा टाँग्ने गरिएको छ । यो निकै जोखिम अवस्था हो । बिजुलीकै पोलमा अन्य तार टाँग्दा वा मर्मत गर्दा दुर्घटना भए त्यसको जिम्मेवार विद्युत् बन्नुपर्ने अवस्था छ । त्यसैले अब सबै सेवाहरु ताररहित बनाउने तर्फराज्य तथा स्थानीय तहबाट पहल हुन आवश्यक छ भने तार नै प्रयाग गर्ने हो भने अन्डरग्राउण्ड प्रविधिको विकास गरिनु आजको आवश्यकता हो ।

भूमिगत प्रणालीको विकास नहुँदासम्म फरक सेवाका तारको रुट व्यवस्थापन हुन जरुरी छ । एउटै बाटोबाट सबै सेवाप्रदायकका तार लानु भन्दा रुट परिवर्तन वा अन्य विकल्पको खोजी हुनु पर्दछ । सेवाप्रदायक कम्पनीहरुले आवश्यकमात्रै तारको प्रयोग गर्ने, बढी भएको तार पोलहरुमा राख्न नपाइने, राखेमा जरिबाना हुने व्यवस्था कडाईका साथ पालना हुनु पर्दछ । विभाजन गरिने जक्सनबाहेक अन्यत्र तारहरुलाई एउटै लठ्ठाबाट पठाउने हो भने पनि शहरको सुन्दरता कायम गर्न सहयोग पुग्नेछ । तर विद्युत्को वा टेलिफोनको पोल जोसुकैले र जहिले पनि प्रयोग गर्दा जोखिम बढाएको देखिन्छ ।

शहरका सबै क्षेत्रमा अप्टिकल फाइबर प्रयोगमा ल्याउनु पर्दछ । यस्तै सहकार्य गर्न मिल्ने सेवाका तारलाई एकीकृतरुपमा व्यवस्थापन गर्न सकिन्छ । नेपाल टेलिकम, इन्टरनेट सर्भिस प्रोभाइडर, केबल टिभी सेवाप्रदायक कम्पनीले सेयर गर्न मिल्ने गरी अन्डरग्राउन्ड गर्ने हो भने शहरको सुन्दरता कायम रहन सक्छ । प्रत्येक कम्पनीले प्रयोग गर्दै आएको छुट्टाछुट्टै तार विस्थापित गरी एउटै तारमार्फत् सेवा दिन सक्ने वा सबै तारलाई एउटै क्षेत्रबाट विस्तार गर्न सक्नु पर्दछ । व्यवस्थापनका लागि अस्थायीभन्दा दीर्घकालीन योजना बनाउनुपर्दछ । जथाभावी तार टाँग्ने कार्यलाई व्यवस्थित गर्न समन्वय जरुरी छ । सबै कुरा राज्यले गरिदेओस् भन्नुभन्दा सेवा लिने र दिने पक्षले पनि विशेष ध्यान दिने हो भने बढ्दै गएको शहरी कुररुपता विस्तारै कम हुँदै जानेछ ।