विश्व स्वास्थ्य क्षेत्रमा चुनौती बनेको कोरोना भाइरसविरुद्धको लडाईंमा विजय प्राप्त हुँदै गएको छ । नेपालमा पनि यसको संक्रमण बिस्तारै कम हुँदैछ । एक वर्षभन्दा बढी समयदेखि आतंकका रुपमा रहेको यो भाइरस पराजित गर्न नागरिकको व्यवहार परिवर्तन भएको छ । विश्वका शक्तिशाली देशहरुले अनेक विज्ञानसम्मत् प्रयास जारी राखेका छन् । पछिल्लो समय भाइरसविरुद्धको खोप विकास गरिएको छ । परीक्षणकै चरणमा रहेको खोप प्रयोगमा अनेक आशंका नभएका हैनन् । तर विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेर अनुमति दिएपछि प्रयोग बढ्दै गएको छ । कतिपय कमजोर देशहरुमा अझै खोप अभियान सुरु हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनकै तर्फबाट अनुदानको अपेक्षा गरिरहनु परेको छ ।
विश्वका शक्तिशाली राष्ट्रहरुसँगै नेपालले पनि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । भारत र चीनले दिएको सहयोग महत्वपूर्ण भएको छ । शक्तिशाली छिमेकीहरुले उत्पादन गरेको कोरोनाविरुद्धको खोपले अनुमति पाएको प्रारम्भीक चरणदेखि नै नेपालले प्राप्त गरेको छ । सरकारले मापदण्डका आधारमा खोप अभियान सञ्चालन गरे पनि कम मानिसले मात्र खोप लिएको अवस्था पनि छ । पहिलो चारणमा कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने जनशक्तिलाई खोप लगाइयो । त्यसपछि सञ्चारकर्मी तथा कर्मचारी, यातायातकर्मी हुँदै अब ५५ वर्ष उमेर पुगेकाहरुले पनि खोप प्राप्त गर्नेछन् । खोप अभियानमा जिल्ला अस्पतालहरुलाई केन्द्रका रुपमा प्रयोग गर्दा मापदण्डभित्रकै दूरदराजका नागरिकले खोप पाउन कठिनाई भइरहेकै हो ।
खोप अभियानलाई जिल्लामा मात्र केन्द्रित गर्दा सरोकारवाला नागरिकलाई कठिनाई भएपछि मकवानपुरको १० वटै स्थानीय तहमा खोप केन्द्र विस्तार गरिने भएको छ । मकवानपुर जिल्लाको लागि एकमात्र हेटौंडा अस्पताललाई खोप केन्द्र निर्धारण गरिएको थियो । अब भने जिल्लाको १० वटै स्थानीय तहले आवश्यकताअनुसार खोप केन्द्र निर्माण गरेर कोरोनाविरुद्धको खोप लगाउन सक्ने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । फागुुन २३ गतेबाट ६५ वर्ष माथिका नागरिकलाई १० दिन र ५५ वर्ष माथिका नागरिकहरुलाई १० दिन गरी २० दिन खोप अभियान सञ्चालन गरिने भएको छ । यस चरणमा जिल्लामा ५७ हजार आम नागरिकले खोप पाउने भएका छन् । अब भने सबै नागरिकले सहजै खोप पाउने आशा बढेको छ ।
हेटौंडा उपमहानगरपालिको ६ स्थानबाट कोरोनाविरुद्धको खोप लगाउने तयारी भएकोे छ । हेटौंडाको हटिया, पदमपोखरी, लामसुरे, कमाने, बसामाडी तथा हेटौंडा अस्पतालबाट खोप अभियान सञ्चालन हुनेछन् । खोप अभियान सञ्चालन गर्न एमबीबीएस डाक्टर भएको स्थान छनौट हुनुपर्नेछ । यस्तै सबै स्थानीय तहमा कम्तिमा पनि एक स्थानमा केन्द्रको विकास गरी अभियान सञ्चालन हुने भएको छ । यसले अब बृद्धबृद्धादेखि अशक्तलाई समेत जिल्ला सदरमुकामसम्म आउनु पर्ने कठिनाई हटेको छ । खोप अभियानलाई प्रभावकारी बनाउन तथा सवैलाई खोप लगाउन स्थानीय तहका केन्द्रहरु महत्वपूर्ण हुनसक्छ । स्थानीय तहका लागि केन्द्रहरु समेत निर्धारण भइसकेको अवस्था छ । अब भने कोरानाविरुद्धको लडाई थप प्रभावकारी हुने भएको छ ।