हेटौंडाः आँचल साहित्य कलापुञ्ज मकवानपुरले शनिबार हेटौंडामा विभिन्न स्रष्टाहरुलाई सम्मान गरेको छ । ८ औं वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा आँचलले स्रष्टा सम्मान गरेको हो ।
कार्यक्रममा १० हजार एक रुपैयाँ नगदसहित बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मानबाट चितवन निवासी समालोचक कवि ज्ञानु अधिकारी सम्मान गरिएको थियो । यस्तै १० हजार एक रुपैयाँ राशिकै प्रतिभा धिताल छन्द पुरस्कार नवलपरासी निवासी कृष्णदेवी शर्मालाई प्रदान गरिएको थियो । ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मानबाट कान्तिपुर दैनिकका पत्रकार प्रताप बिष्ट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति अध्यक्षसमेत रहनुभएका बिष्टलाई पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील रहनुभएका कारण ७ हजार ५ सय रुपैयाँ नगदसहित सम्मानित गरिएको हो । यसैगरी ११ हजार एक सय ११ रुपैयाँ राशिको टीकादत्त मायादेवी कुलकुमारी साहित्यिक पुरस्कार मकवानपुरे साहित्यकार निमेश निखिललाई प्रदान गरिएको थियो ।
आँचलका पूर्वअध्यक्ष अप्सरा तिम्सिनाको स्मृतिमा स्थापित अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मानबाट काठमाडौं निवासी कवि प्राज्ञ लक्ष्मी मालीलाई १५ हजार एक रुपैयाँसहित सम्मान गरिएको छ । ३ हजार ५ सय नगद राशिसहितको मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार अमर माविमा अध्ययनरत प्रज्वल ढुंगानालाई प्रदान गरिएको छ । यस्तै, ५ हजार एक रुपैयाँसहित वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मानबाट मकवानपुरे साहित्यकार रामचन्द्र आचार्य ‘फुर्सती’ सम्मानित हुनुभएको छ ।
मुक्ति तारा नवप्रतिभा सम्मानबाट प्रसिद्विका लम्साललाई ५ हजार एक रुपैयाँसहित सम्मानित गरिएको छ । यस्तै, १० हजार रुपैयाँसहित सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान मकवानपुरे साहित्यकार सुवास खनाललाई प्रदान गरिएको छ भने ५ हजार रुपैयाँ नगदसहित कलाकार एवम् चित्रकार सूर्य सन्यासीलाई सम्मान गरिएको छ ।
सम्मानित व्यक्तित्व प्रताप विष्टले आफूले पाएको पुरस्कार राशिमध्ये ५ हजार रुपैयाँ बुढौली साहित्यिक समाज मकवानपुरलाई उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । पत्रकारिता क्षेत्रमा उभ्याउन सम्मानले हौसला र प्रेरणा प्रदान गरेकोमा पुरस्कार संस्थापक र आयोजकप्रति आभार व्यक्त गर्नुभएको छ । ३९ वर्ष पत्रकारिता क्षेत्रमा लागेपछि फरकफरक व्यक्तिसँग भेट हुनुको साथै मान्छे देखेको र पत्रकारिता क्षेत्रमा पनि सम्मानले ऊर्जा प्रदान गरेको जानकारी दिनुभएको छ ।
कार्यक्रममा विभिन्न साहित्यकारहरुले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले साहित्य बौद्धिक क्षमता भएको क्षेत्रसँगै व्यक्ति र समाजलाई कलम चलाएर बाटो देखाउने हुँदा अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । देश विदेशमा मकवानपुर तथा हेटौंडालाई चिनाउने मौका साहित्य जगतले दिने उपमेयर लामाले बताउनुभयो ।
दशकौंदेखिको विभिन्न अन्दोलान गर्दै ल्याएको संविधानले महिलालाई स्थापित गराएको उहाँले बताउनुभयो । बौद्विक विकाससँगै अहिले आर्थिक विकासलाई पनि सँगसँगै अगाडि बढाउन आवश्यक रहेको बताउँदै उपमेयर लामाले एक परिवारः एक महिला रोगजारलाई सबै तहको सरकारले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
आँचल साहित्यक कला पुञ्च मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विशिष्टहरु अतिथि साहित्यकार तुल्सी थापा, साहित्यकार स्नेह सायमी, सामाजिक विकास मन्त्रालय महिला विभाग प्रमुख चन्दा श्रेष्ठलगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।