हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यसम्पादन समितिका सदस्य राजाराम बर्तौलाले राजसंस्थालाई पनि कुनै न कुनै रुपमा स्थान दिनुपर्ने बताउनुभएको छ । मुलुकको स्वाधिनता र स्वाभिमान उँचो राख्नका निमित्त राप्रपा बलियो हुनुपर्ने समेत बर्तौलाले बताउनुभएको छ ।
मकवानपुरको बागमती गाउँपालिकाको पार्टी अधिवेशनको फापरबारीमा उद्घाटन गर्नुहुँदै बर्तौलाले कांग्रेस र कम्युनिस्टको असफल नीति र मार्गचित्रका कारण मुलुक समस्याको चक्रब्युहमा फसेको दावी समेत गर्नुभएको छ । परिवर्तनका नाममा युवालाई बिदेशी भूमिमा दाउरे र गोठाले बनाएको भन्नुहुँदै बर्तौलाले मुलुकलाई स्थिरता र समृद्धिको बाटोमा लैजान राप्रपासँग उपयुक्त मार्गचित्र र योजना समेत रहेको बताउनुभयो ।
कार्यक्रममा राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेले राप्रपालाई बलियो शक्ति बनाउनका निमित्त संगठन सुदृढीकरण अभियानलाई सशक्त रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा नेताहरु गुञ्जन न्यौपाने, गुरु सापकोटा, सागर थापा, राजाराम अर्याल, बद्री कुँवर, दामोदर वाग्ले, शुक्र प्रजा, भृगु कार्की, मदन रानामगर लगायतले बोलेका थिए । अधिवेशनले दिल बहादुर बलको अध्यक्षतामा ३१ सदस्यीय राप्रपा बागमती गाउँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मदन राना, शरणकाजी श्रेष्ठ र जोसेफ राई, सचिब शेर बहादुर थोकर, कोषाध्यक्ष धनबहादुर पुलामी मगर, सहसचिव राजु सारु मगर रहेका छन् ।