हेटौंडाः क्यान्सर रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सरको मुख्य कारण सुर्तीजन्य पदार्थ भएको बताएको छ । क्यान्सर रोगको प्रमुख कारक तत्वमा सुर्तीजन्य पदार्थ रहेको भन्दै सरकारले लगाउँदै आएको करलाई शतप्रतिशत वृद्धि गर्नुपर्ने संस्थाका महासचिव बिमल होडाले बताउनुभयो ।
कर वृद्धि हुँदा सुर्तीजन्य पदार्थको मूल्य बढी हुन गई सेवनमा कमी आउने नेपाल विकास अनुसन्धान प्रतिष्ठानको एक अध्ययनले देखाएको छ । नेपालमा करिब २० हजार जना क्यान्सरको नयाँ बिरामी देखिएको तथा विगत ५ वर्षमा क्यान्सरका कारण १३ हजारले ज्यान गुमाउनुपरेको नेपाल अर्बुद रोग निवारण संस्थाले जनाएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी गोष्ठीको आयोजना पनि हुने भएको छ । गोष्ठीमा पूर्व अर्थसचिव डा. देवीप्रसाद शर्मा, स्वास्थ्यविद् देवी प्रसाईं, स्वास्थ्य शिक्षा, सूचना सञ्चार केन्द्रका अध्यक्ष कुञ्जन जोशीलगायत सहभागी हुनेछन् ।