घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले प्रविधि हस्तान्तरण कार्यक्रममार्फत् उद्यमीलाई विभिन्न उपकरण वितरण गरेको छ । मानिसलाई सक्रिय र आफैं कमाई गर्नसक्ने बनाउने हो भने माछा होइन माछा मार्ने जाल दिनु पर्दछ भन्ने मान्यता छ । सरकारले पनि सोहीअनुसार उद्यमीहरुलाई उपकरण प्रदान गर्ने गरेको छ । बागमती प्रदेश सरकारको लघु, घरेलु तथा साना उद्योग प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत् घरेलु तथा साना उद्यमीलाई आवश्यक उपकरण वितरण गरेको हो । प्रादेशिक संरचनालाई आर्थिक बोझका रुपमा अथ्र्र्याउने प्रयास भइरहँदा प्रदेश सरकारहरुले नयाँ कार्यक्रममार्फत् नागरिकलाई सेवा प्रदान गरेको अवस्था छ । प्रदेश सरकारले स्थानीय तथा जिल्ला इकाईहरुमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् ।

उद्यमीले २० प्रतिशत लगानी गर्ने गरी प्रस्ताव पेश गरेपछि ८० प्रतिशत प्रदेश सरकारले व्यहोरी उपकरण प्रदान गर्ने कार्यक्रम छ । यसले बेरोजगारी अन्त्य तथा स्वरोजगारको ढोका खुल्नसक्छ । आर्थिकरुपमा कमजोर अवस्था भएकालाई सरकारको यो कार्यक्रम निकै फलदायी बन्नसक्छ । केही गरौं भन्ने उत्साह भएका युवाहरुले सरकारको यो कार्यक्रमबाट पर्याप्त फाइदा लिन सक्नेछन् । आफ्नै लगानी हो भन्ने मान्यता र व्यवहारमार्फत् प्राप्त उपकरणको सदुपयोग गर्ने ईच्छाशक्ति उद्यमीमा हुनुपर्दछ । सरकारले दिएको त हो नि भन्दै उपकरणको सदुपयोग नगर्ने हो भने प्रविधि आफैंले उत्पादन गर्ने होइन । राज्यको लगानीलाई पनि आफ्नै ठानेर सदुपयोग गर्नु उद्यमीहरुको जिम्मेवारी हो ।

उपकरणका लागि प्रस्ताव स्वीकृत गर्नुअघि प्रस्तावकहरु कस्तो प्रकारको जनशक्ति हो भन्ने कुरा यकिन गरिनु पर्दछ । उपकरण माग गर्दैमा सदुपयोग हुने सुनिश्चित हुँदैन । आवश्यकता र औचित्य पुष्टि हुने व्यवहार र क्षमता पनि देखिनु पर्दछ । यसका लागि राज्य संयन्त्रमार्फत् स्थलगत अनुगमन हुनु आवश्यक छ । उपकरणका लागि प्रस्तावकको क्षमताको परीक्षण हुनुपर्दछ । नत्र राज्यको लगानी दुरुपयोगको खतरा हुन्छ । राज्यले गर्ने लगानी लक्षित वर्गमा पुग्नु आवश्यक छ । नागरिकलाई समृद्ध बनाउन सीपमूलक तालिमसँगै आवश्यक उपकरण प्रदान गर्नु आवश्यक हुन्छ । सीप र उपकरण सँगै हस्तान्तरण गर्ने हो भनेमात्र राज्यले सोचेअनुसारको प्रतिफल प्राप्त हुनसक्छ ।

उद्यमीहरुबाट प्राप्त भएका प्रस्तावमध्ये मूल्यांकनका आधारमा यो वर्ष मकवानपुरका ४६ उद्यमीलाई उपकरण प्रदान गरिएको छ । २० लाख रुपैयाँ बराबरको सिलाई मेसिन, चाँप कटर, केमिकल मिक्सिङ मेसिन, थोपा सिंचाई, हाते ट्याक्टर, ड्रिंकर मेसिन र मिल्क एनालाईजर वितरण गरेको हो । मेसिन र औजारको सही उपयोग भएमा उद्यम गर्न चाहनेका लागि सुनौलो मौका हो । राज्य कोषबाट भएको खर्चलाई सदुपयोग गरिएको छ वा छैन भन्ने सुनिश्चित गर्न अनुगमन जरुरी हुन्छ । कार्यक्रम सम्पन्न गर्न हस्तान्तरणपछि जिम्मेवारी सकिएको ठान्ने सरकारी संयन्त्रको प्रवृत्तिले सरकारी योजनाहरु अलपत्र पर्ने र अर्को वर्षदेखि स्थगित भएका धेरै उदाहरण छन् । प्रदेश सरकारको अनुदानलाई सदुपयोग गराउने क्रममा विगतको कमजोरी दोहोरिनु हुँदैन ।