कोरोना विरुद्धको खोप लगाउने अभियानको सुरुवात हुँदैछ । विश्वव्यापी महामारी विरुद्धको सुरुवातले नागरिकमा कोरोनाविरुद्ध थप हौसला बढ्ने देखिन्छ । सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शवबाहनका चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरु, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई पहिलो चरणमा खोप दिँदै छ । संक्रमण हुने र सार्न सक्ने जोखिम वर्गबाट सुरुवात गरिएको खोप सबैले पाउन तीन चरण पर्खनु पर्ने भएको छ । दोस्रो चरणमा दीर्घरोगी र नियमित औषधि खाइरहेका विरामी तथा ५५ वर्ष माथिका नागरिकले खोप लगाउन पाउने छन् ।

बागमती प्रदेशका ६३ हजार जनालाई पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । केन्द्रमा अभियानको सुरुवात प्रधानमन्त्रीबाट हुँदैछ भने बागमती प्रदेशमा मुख्यमन्त्रीले सुरुवात गर्नुहुनेछ । भारत सरकारले अनुदानमा उपलव्ध गराएको १० लाख डोज खोप करिब चार लाख नेपालीलाई पुग्ने बताइएको छ । एकजनालाई दुई पटक खोप लगाउनु पर्ने हुन्छ । बागमती प्रदेशका १३ जिल्लाका ३५ केन्द्रबाट कोरोना भाइरसविरुद्धको खोप उपलव्ध गराउने व्यवस्था सरकारले गरेको छ । काठमाडौं जिल्लामा ४० हजार जनालाई १२ स्थानबाट खोप लगाइँदै छ भने सबैभन्दा कम बागमती प्रदेशको रसुवा जिल्लाको ५ सय १० जनाले पहिलो चरणमा खोप लगाउन पाउने छन् । पहिलो पटक लगाएको ४ हप्तापछि पुनः दोस्रो चरणको खोप लगाउनु पर्ने छ ।

बागमती प्रदेशको चितवन, ललितपुरमा ३–३ वटा केन्द्रबाट खोप लगाइने छ भने सिन्धुली, धादिङ, काभ्रे, नुवाकोट, रामेछाप, भक्तपुर, दोलखा जिल्लामा २–२ वटा केन्द्रबाट खोप लगाउने व्यवस्था गरेको देखिन्छ । मकवानपुर र रसुवा जिल्ला भने एक–एक वटा केन्द्रबाट मात्रै खोप लगाइने व्यवस्था मिलाइएको छ । जनसंख्या र भौगोलिक अवस्था तथा कोभिशिल्ड व्यवस्थापनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारका आधारमा केन्द्रहरु निर्धारण गरिएको छ । तर दुर्गम जिल्लामा एक ठाउँबाट मात्र खोप लगाउने व्यवस्थाले सेवाग्राहीले थप कठिनाई सहनु पर्ने देखिन्छ । सुविधा सम्पन्न जिल्लाहरुमा जहाँ पुगेर पनि सेवा लिन सकिन्छ भने दुर्गम जिल्लाहरुमा सजिलो छैन । तर खोपको सुरक्षा प्रमुख जिम्मेवारी भएकाले सोही अनुसार केन्द्र निर्धारण गरिएको पाइन्छ ।

बागमती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडामा ७६ हजार डोज खोप आइसकेको छ । प्रदेशको ३ जिल्ला तथा प्रदेश नम्बर २ का ६ जिल्लाको लागि खोप हेटौंडामा आइपुगेको हो । बागमती प्रदेशको सिन्धुली, चितवन र मकवानपुरलाई प्रदेश आपूर्ति केन्द्रबाट खोप पठाइने र तराईका ६ जिल्लामा भण्डारणको व्यवस्था नहुँदा खोप हेटौंडामा राखिएको हो । खोप सुरक्षित तरिकाले राख्न नसके बिग्रने छ । कोभिशिल्डका लागि २ देखि ८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने छ । यस्तो व्यवस्था तराईका जिल्लाहरुमा नभएपछि हेटौंडामा नै भण्डारण गर्नु परेको हो । कुरा ठूला गर्ने र काम नगर्ने प्रवृत्तिको शिकार स्वास्थ्य क्षेत्रमा पनि भएकैले औषधि भण्डारण गर्न समेत जिल्लाहरुमा समस्या छ ।