स्कूल जान ठिक पर्दै थिएँ । फोन आयो– ‘सर एउटा जरुरी काम परेकोले अलिकति पैसा पुगेन । लौ न सापटी दिनुपर्यो ।’ दुःख देखाउँदै भनेँ, ‘हैन शिक्षकसँग पैसा हुन्छ भनेर पत्याइराख्ने मान्छेहरु पनि अझै छन् र भन्या । तलब त चार महिनामा मात्रै पाइन्छ नि दाइ ।’ उनले झोक्किँदै भने ‘अनि अगाडिको चार–चार महिनाको तलबचाहिँ जाँडरौसी धोकेरै सिध्याउँछौ कि क्या हो मास्टर ?’ तिखा वचनले मन अमिलो भयो ।
उधारो दिने पसलवालाले सबैभन्दा पहिला शिक्षकसँग उधारो तिर्न अनुरोध गर्छ । दूधवालाले पनि उसै गर्छ । डेरामा बस्ने शिक्षकलाई त घरबेटीले सपनामा घरभाडा दिएको देखुन् भनेर महिनाको २९ गते नै अनुहार देखाउँछन् ।
आपत् परेर जाँदा पनि मेडिकलमा उधारो राख्न मिल्दैन । सरकारी दस्तुर उधारो हुने कुरै भएन । सरकार त शैक्षिक बेरोजगारसँग करोडौं राजश्व उठाएर गर्व गरिराछ । बेरोजगारलाई रोजगारी दिने नाममा शिक्षक सेवादेखि लोकसेवासम्म बेरोजगारलाई धोबीले लुगा निचोरे झैं निचोर्ने नीति संघीयतामा फस्टाउँदै गएको छ । रोजगारीका लागि विदेश गएका युवाबाट असुलेर देश पालिएको छ ।
शिक्षक भएर भन्दा नभएर जीवन बिताउन सजिलो होला । कम्तीमा उधारो दिनेले ‘ए मास्टर जागिर खाएका छौ तिर न ।’ भनेर त नभन्ला नि । आखिर बेकामे बस्नेले पनि ठेक्कापट्टा गर्छु भन्ने त हो नि । दुनियाँले ठेकदारसाब लाइहाल्छन् क्यारे ।
स्कूल पुग्नेबित्तिकै एक अभिभावकले भने, ’माड्साप ३ मिनेट ढिला भैसक्यो नि ।’ म भन्छु, ‘छोरीलाई बोर्डिङमा पुर्याउनाले एकैछिन ढिला भयो । फेरि पहिलो क्लास खाली पनि त छ नि ।’ उताबाट छड्के आउँछ, ‘ए आफू सरकारी स्कूलाँ पढाएर सन्तानचैं बोर्डिङमा ?’ उत्तर दिनैपर्याछ, भन्न मन लाग्छ ‘बारीमा कपास खेती छ, कपडा किनेर लाउँछौ ? खेतमा लहलह धान, मकै फल्छ, चिउरा र बिस्कुटमा किन पैसा खर्चन्छौ, गाईको दूध बेचेर भट्टीमा रक्सी नधोक्दा हुन्न ?’ तर भनिनँ । निहुरिमुन्टी न लगाएर अफिसतिर लम्किएँ ।
आजकाल मास्टर शब्द सुन्दै साह्रै हाँसुठ्दो लाग्छ । देउसी खेल्ने केटाकेटीले पनि ‘ए धाराको पाएप, मास्टर साएप’ लगाउँछन् हामीलाई । गीत गाउनेले पनि माया लाउँदै नजानेजस्तो ‘मास्टर साहेब लगाइदेउ पिरती’ भन्दै जिस्काउँछन् ।
त्यसो त साहेबबाट साब हुँदै सापमा झरेकामा मास्टरसाप, डाक्टरसाप, वकिलसाप, हवल्दारसाप, ड्राइभरसाप सबै हुन् नै । तीमध्ये मास्टरसाप मात्रै अब माड्सापमा रुपान्तर भैसके । त्यसो त आजकाल मास्टरसापहरु पनि ज.द. मास्टर, ठे.प. मास्टर, क.खो. मास्टरमा रुपान्तरण हुन थालेका छन् । यस्तै मौका पारेर शिक्षकको नेतृत्वमा रहेका नेताहरु पनि शिक्षकलाई माड्सापकै दर्जामा गनिरहेका हुन्छन् । शिक्षकका समस्या सुन्ने ठेक्का पाएकाहरु पनि शिक्षकलाई आफ्नो समस्या घरैमा छोडेर विद्यालय आउन सल्लाह दिन्छन् । दुनियाँका समस्या सुन्नुपर्ने शिक्षकले आफ्नो समस्या राजाको कपाल काट्नेले झैं ओढारमै गएर सुनाउनुपर्ने हो र ?
अब तलबले वृद्ध बाआमादेखि सन्तानसम्मका मुखमा माड लाउन धौ धौ पर्ने पेसाधारीलाई माड्साप होइन शिक्षक भनेर सम्बोधन गरौं । पढाइ पुगेको छैन भने पढौं । समाज परिवर्तनको महत्वपूर्ण पेसाधारीसँग सापटी मागेर जागिरको धज्जी नउडाउँ ।
कसैले भेटेमा यो विज्ञप्ति अघि फोन गर्ने दाइलाई दिनु न है ।
(ज.द.=जग्गा दलाली, ठे.प.=ठेक्कापट्टा, क.खो.=कमिशनखोर)
स्पष्टोक्तिः यस लेखका प्रसंगहरु कसैको जीवनमा मेल खाएमा त्यसलाई आफ्नै सम्झिनुहोला ।