चिसो बढ्दै जाँदा नागरिकमा अनेक समस्या आउने गर्दछन् । विशेषगरी बालबालिका र वृद्धबृद्धाहरु चिसोको मारमा पर्ने गर्दछन् । विगतका वर्षभन्दा कोरोनाको मार खेपिरहेको अवस्थामा यस वर्षको चिसो अझै बढी समस्या बोकेर आएको छ । ओत लाग्ने छानोसमेत नभएका परिवारलाई चिसो मौसम काल नै बन्ने गरेको छ । गरिब परिवारका नानीहरुलाई विद्यालय जान समस्या भएका छन् । चिसोले कोही पनि मर्नु पर्दैन भन्दै गर्दा त्यसका लागि सरकारले ठोस योजना बनाउन सकेको छैन । राजनीतिक भाषण गरेर गरिबको मत लिने उपायबाहेक ठोस योजना ल्याउने तत्परता देखाएको छैन । खाना नै नपाएका मानिसहरुले नाना कहाँबाट पाउने ? चिसोमा तराई क्षेत्रका गरिब परिवारका सदस्यको कठ्यांग्रिएर मृत्युसमेत हुने गरेको छ ।
चिसोको समस्या कुनै क्षेत्र, वर्ग र समुदायको मात्र हैन । राज्य प्रणालीमा भएका कमजोरीले नागरिकहरु समस्या झेल्न बाध्य छन् । स्पष्ट दृष्टिकोण र योजना नबनाउँदा तल्लो तहका नागरिकले सजाय भोग्नुपरेको छ । प्रत्येक वर्ष मौसमगत समस्या हुन्छन् भन्ने जानकारी सबैलाई छ । तर समस्या समाधानका लागि पूर्वतयारी देखिँदैन भने दीर्घकालीन योजना पनि छैनन् । कुन क्षेत्रका कुन समुदायलाई चिसोले बढी प्रभावित गर्दछ भन्ने कुराको जानकारी सरकारी निकायलाई छ । तर, किन योजना बन्दैन ? चिसोले मानिस कठ्यांग्रिन थालेपछि केही थान कम्बल बोक्ने वा दाउराको जोहो गर्ने परिपाटी छ । पीडित समुदायका लागि दीर्घकालीनरुपमा न्यानो कपडा वा छानासहितको व्यवस्था गरिदिए स्थायी समाधान हुनेछ ।
चिसो बढेसँगै न्यानो कपडा बाँडेका खबरहरु सार्वजनिक भइरहेका छन् । विभिन्न संघसंस्थाहरुले आफ्नो पहुँच पुग्ने ठाउँमा न्यानो कपडा वितरण गरेर सहयोग गर्दै आएका छन् । संस्था तथा व्यक्तिगतरुपमा गरिएका प्रयासले राज्यलाई नै सहयोग पुगेको छ । राज्य आफैंले गर्न नसक्ने हो भने सार्वजनिक अपिल गर्नुपर्दछ । हैनभने चिसोबाट नागरिकलाई बचाउने जिम्मेवारी राज्यकै हो । मकवानपुरका विभिन्न विद्यालय वा समुदायमा न्यानो कपडा वितरणको होडजस्तै भएको छ । जुन क्षेत्रका अगुवाको सम्पर्क छ, त्यहाँ सहयोग पुग्दै गर्दा दोहोरिने अवस्था पनि हुन्छ । यसका लागि स्थानीय तहले आवश्यक समन्वय गर्नु आवश्यक छ । सहयोगलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्नु आवश्यक छ ।
राज्यले नीति बनाएर असहाय गरिब दुःखीहरुलाई सहयोग गर्ने हो भने समानुपातिकरुपमा नै वितरण हुनेछ । कोभिडपछि अभिभावकहरुको सामान्य आम्दानीसमेत बन्द भएपछि ठूलो समुदाय खाना र लगाउने समस्यामा परेका छन् । पोषिलो खाना र न्यानो कपडाको अभावमा गरिब समुदायका मानिसहरु थप बिरामी पर्ने खतरा छ । सहयोगलाई सुनिश्चित बनाउने काम स्थानीय तहहरुको पनि हो । यसका लागि संयन्त्रको विकास गरी सहयोगको व्यवस्थापन गर्ने हो भने वास्तविक पीडितले राहत पाउनेछन् । विद्यार्थीहरुलाई समेत न्यानो कपडा वितरण भइरहेका छन् । कुनै विद्यालयमा भन्दा पनि जिल्लाका सबै विद्यालयमा न्यानो कपडा लगाउन नसक्ने धेरै बालबालिका छन् । तिनको पहिचान गरी विद्यालयमार्फत् नै सहयोग पुग्ने कार्यक्रम हुनुपर्दछ । फेसनभन्दा उपयुक्त र वास्तविकतालाई प्राथमिकता दिनु आवश्यक छ ।