मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसन्धान केन्द्र सञ्चालन गर्न घर जग्गा उपलब्ध ।

हेटौंडाः बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याउन लागेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसन्धान केन्द्र सञ्चालन गर्न घर जग्गा उपलब्ध भएको छ । घर जग्गा भोगचलन सम्बन्धमा मंगलबार हेटौंडा–८ स्थित लोकतान्त्रिक ऐतिहासिक पार्क समिति र प्रतिष्ठान बीच सम्झौता भएको हो ।

हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच पार्क समितिका अध्यक्ष गणेश कुमारी प्रधानले प्रतिष्ठानका शिक्षाध्यक्ष सतिश कुमार देवलाई ३० वर्षका लागि पार्कमा निर्माण भएको सभाहल, कार्यालय भवन र जग्गा निशुल्क उपलब्ध गराउने गरी सम्झौता गरेर हस्तान्तरण गर्नुभएको हो । सम्झौतापत्र हस्तान्तरण गर्नुहुँदै समितिकी अध्यक्ष प्रधानले प्रतिष्ठान सञ्चालनमा समितिको सक्दो सहयोग रहने बताउनुभयो । सो अवसरमा प्रतिष्ठानका शिक्षाध्यक्ष सतिश कुमार देवले अनुसन्धान केन्द्र सञ्चालनका लागि भवन तथा जग्गा उपलब्ध गराउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

सो अवसरमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रतिष्ठान मार्फत मकवानपुरको स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गर्न सकिने बताउनुभयो । उहाँले मकवानपुरमा पछि परेको स्वास्थ्य क्षेत्रमा प्रतिष्ठान मार्फत कायापलट हुने भन्दै प्रतिष्ठानलाई स्थापित गर्न सबैको सहयोग जरुरी रहेको बताउनुभयो । प्रतिष्ठान मार्फत स्वास्थ्य क्षेत्रमा धेरै कुरा प्राप्त हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष गोपाल श्रेष्ठले प्रतिष्ठानले सञ्चालनमा ल्याउन लागेको अनुसन्धान केन्द्रले वडाको शान बढ्ने बताउनुभयो । उहाँले चाँडै काम सुरु गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा मदन भण्डारी स्वास्थय विज्ञान प्रतिष्ठानका संयोजक चिरञ्जीवी चुडाल, पार्क समितिका महासचिव बोल बहादुर कार्कीलगायतको उपस्थिती थियो ।