हेटौंडाः मकवानपुरको गौैरीटार आइसोलेसनमा हाल दुईजना कोरोना संक्रमितमात्र रहेका छन् । पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आएसँगै आइसोलेसनमा बस्नेको संख्या पनि कम भएको छ । सुरुवातको समयमा एक सय जनाभन्दा बढी संक्रमित बस्ने गरेको भए पनि पछिल्लो समय आइसोलेसनमा बस्ने संक्रमितको संख्या ज्यादै न्यून रहेको गौरीटार आइसोलेसनका ईन्चार्ज डा. सागर काफ्लेले बताउनुभयो ।
लकडाउनको समयमा आइसोलेसनमा बस्न चाहनेले समेत बेड नपाएको हुँदा होम आइसोलेसनमा बस्नेहरु अत्याधिक भएको भन्दै अहिले अधिकांश संक्रमितहरु घरमै आइसोलनसमा बस्ने गरेको डा. काफ्लेले बताउनुभयो । हेटौंडा अस्पतालले सञ्चालन गरेको गौैरीटार आइसोलेसनमा सङ्क्रमितलाई खाना, नास्ता दिनुको साथै वाईफाईको सेवा दिइए तापनि आइसोलेसनमा नबसेर घरमै बस्न रुचाउने गरेको आइसोलेसनका इन्चार्ज डा. काफ्लेले बताउनुभयो । उहाँले गौरीटारमा बस्न आउनेलाई स्वास्थ्य जाँच गरेरमात्रै राख्ने गरेको बताउनुभयो । धेरै समस्या भएमा चितवन तथा काठमाडौं रिफर गर्ने गरिएको उहाँले बताउनुभयो ।
लक्षण नदेखिएका तथा सामान्य लक्षण देखिएका संक्रमितहरुलाई आइसोलेसनमा भन्दा घरमै बढी केयर हुने भएपछि कोरोना संक्रमितहरु घरमै आइसोलेसनमा बस्न थालेको गोरक्षेश्वर स्वाब संकलन केन्द्रका ईन्चार्ज भोला चौलागाईंले बताउनुभयो । अहिले दैनिक २५ देखि ४० जनासम्म स्वाब दिन स्वाब संकलन केन्द्रमा आउने गरेको ईन्चार्ज चौलागाईंले जानकारी दिनुभयो । पछिल्लो समय स्वाब दिनेको संख्यासँगै कोरोना पोजेटिभ आउनेको संख्या पनि कम हुँदै गएको छ । हेटौंडामा दैनिक १० जनाभन्दा कम संक्रमित देखिने गरेकोमा मंगलबार २ जनामा मात्र कोरोना पोजेटिभ देखिएको चौलागाईंले बताउनुभयो ।