सडक बालबालिका भनौं वा अलपत्र परेका बालबालिका वा गन्तव्यविहीन बालबालिका जे भने पनि उनीहरु खुला आकाशलाई छाना र सडकको चिसो भुइँलाई ओछ्यान बनाएर जीवन जिउन बाध्य भएका हुन्छन् । सामाजिक, आर्थिक, पारिवारिक वा साथीभाइको संगतजस्ता कारण आफ्नो गन्तव्य बिर्सिएर उनीहरु सडकमा रमाइरहेका हुन्छन् । उनीहरुका लागि त्यही सडक नै सबथोक हुने गर्दछ । जाडो होस् या गर्मी, रात होस् या दिन उनीहरु सडकमा नै रमाउने, त्यहि नजिकै रहेको फोहोरहरुमा कवाडी खोजेर बेच्ने, खाली सीसी-बोतलहरु जम्मा गरेर बेच्ने, बिग्रिएर फालेका तारका पोकाहरुबाट तामा निकालेर बेच्ने र काठमाडौंमा रहेकाहरु पशुपति क्षेत्रको वरिपरि मागेर त कोहि बागमती नदीमा फालेका पैसा, सुन खोजेर त कोहि आर्यघाटमा आएका लाशहरु जलाउनका लागि सहयोग गरेर आएको आम्दानीले जीविकोपार्जन गर्ने गरेका छन् । यसरी धेरै बालबालिकाहरु अझै अलपत्र रहेका छन् । कोही साना उमेरमा आएर अब युवा भइसकेकाहरु छन् । जसलाई मैले नजिकबाट नियाल्ने अवसर पाइरहेको छु ।
त्यस्ता युवाहरु, जो अब आफ्नो जीवनयापनका लागि दिगो हुने काम गर्न चाहन्छन् । नेपाली नागरिकको आधिकारिक प्रमाण लिएर बाँच्न चाहन्छन् अनि आफ्नो पछिल्लो पुस्तासँग खुसी र सुखीसँग रहन चाहन्छन् । तर, त्यस्ता केहि कानुनी प्रावधानहरु छन्, जसले त्यस्ता कागजात लिनबाट वञ्चित गराउँछ । कहिँकतै सहज तरिकाले उनीहरुको काम हुन्छ त कति ठाउँमा भने उनीहरुलाई दुःख दिने काम हुन्छ । हरेक प्रक्रिया सम्पन्न गरेपनि नागकिता लिनका लागि अनेक बाहना बनाएर दुःख दिइरहेको हुन्छ ।
त्यस्ता युवा र बालबालिकाहरुसँग नजिकबाट काम गरिरहँदा, उनीहरुको समस्यालाई बुझ्दा लाग्छ कानुन भनेको हुँदाखानेलाई मात्र लाग्ने हो कि जस्तो लाग्छ । किनकि कतिपय बालबालिकाहरुलाई आमाबुबा हुँदाहुँदै पनि बेवास्ता गर्ने, सानैबाट चाहिने कागजपत्र (जस्तैः जन्मदर्ता) नबनाइदिने, अभिभावक स्वयम् लामो समयसम्म परिवारको सम्पर्कबाट टाढा रहने त कतिपयको भने कोही नभएको अवस्था हुन्छ । त्यस्ता बालबालबालिका युवा अवस्थामा पुगेर केहि गर्न चाहँदा आफ्नो कानुनी पहिचान नपाएर अलपत्र अवस्थामा रहेका हुन्छन् । जसका कारण उनीहरु सडकयुवाको रुपमा नै जीवनयापन गर्नुपर्ने, दैनिक गुजारा गर्न ज्याला मजदुरी गर्नुपर्ने त कतिपयचाहिँ कुतलमा फस्ने हुन्छन् ।
एउटा युवा जसले देश निर्माणमा आफ्नो भूमिका दिन सक्छ । राज्यले चाहने हो भने त्यस्ता युवाहरुलाई आवश्यक कानुनी कागजातहरुका लागि सहज वातावरण निर्माण गरेर, केही सीपहरु सिकाएर दक्ष जनशक्तिको रुपमा प्रयोग गर्न सक्छ । त्यसैले अब राज्यले सडक बालबालिका र युवाहरुलाई कानुनी कागजातसहितको दिगो व्यवस्थापन गर्नका लागि सहज वातावरण तयार गर्ने पो हो कि ? किनकि भोलि फेरि कोहि सडकबालक र सडकयुवा भएर बाँच्न नपरोस्, अनि अनेकौं कानुनी उल्झन निकालेर एउटा नेपाली नागरिकले पाउने कानुनी पहिचानबाट वञ्चित हुन नपरोस् । जय बालबालिका ।