नम्रता लामा

सडक बालबालिका, जो असहाय अनि अनाथ छन्, उसका लागि आफ्नो पहिचान पाउन किन यति धेरै कठिन हुन्छ ? आमाबुबा नहुनु र विभिन्न कारणले सडकमा आइपुग्ने बालबालिकाहरु नेपालका नागरिक हैनन् र ? यी प्रश्न घुमिरहन्छ, मेरो दिमागमा । उनीहरुलाई कानुनी पहिचान दिनका लागि कानुनमा व्यवस्था नै नभएको हो वा कानुनमा भएता पनि व्यवहारमा उतार्न गाह्रो भएको हो ? बुझ्नै सकिएको छैन । मैले काम गर्ने क्रममा त्यस्ता धेरै बालबालिका भेटिएका छन्, जसको विभिन्न कारणले जन्मदर्ता र नागरिकता बन्न सकेको छैन । जसका कारण उनीहरु बीचमा नै पढाई छाड्नुपर्ने बाध्यता बनेको छ भने काम गर्न जाँदा पनि आफ्नो पहिचान दिन नसकेर चाहेको काम गर्न नसक्ने अवस्था रहेको छ । सडकमा बसेर वैवाहिक जीवनयापन गरेर जन्माएका बालबालिकाहरु पुनः सडकमा नै नआओस् अनि आफ्नोजस्तो जिन्दगी आफ्ना बालबालिकाले व्यहोर्न नपरोस् भनेर ती बालबालिकाका आमाबुबा चनाखो त भएका छन्, तर आफूहरुको कानुनी कागजात नहुँदा उनीहरुले आफ्ना बालबालिकालाई कानुनी पहिचान दिलाउन सकेका छैनन् र आफ्ना बालबालिकाको भविष्यको लागि चिन्तित छन् ।

यति लेखिरहँदा मलाई एउटा भाइको कुरा यहाँ उल्लेख गर्न मान लाग्यो, जो २३ वर्षदेखि पशुपतिलाई आफ्नो कर्मथलो बनाउँदै आइरहेका थिए । आफ्नो पहिचानका लागि भौंतारिइरहेका थिए । अहिले उक्त भाइले आफ्नो कानुनी पहिचान प्राप्त गर्न सफल भएका छन् । उनी अर्थात् एलिस तामाङ मिति २०७७-८-१० गतेबाट आधिकारिकरुपमा नेपालको नागरिक भएका छन् । हुन त उनको जन्म नेपालमा नै भयो । हुर्के, बढे पनि यहीँको भूमिमा । तर, उनले नेपाली नागरिक हुनुको आधिकारिकता उक्त दिनबाट मात्र पाए । आखिर किन उनले समयमा नै प्राप्त गर्नुपर्ने आधिकारिक कागजात प्राप्त गर्न सकेनन् त भन्नका लागि उनको विगत जान्न जरुरी छ ।

एलिसको विगतलाई पर्केर हेर्ने हो भने उनी आजसम्म पनि पशुपतिमा नै हुर्केबढेर आएका छन् । उनका आमाबुबा उनी सानो छँदा नै बित्नुभयो । उनका लागि पशुपति क्षेत्रमा ओत लागेर जीवन बिताउनुबाहेक अरु विकल्प नै रहेन । उनले बाँच्नका लागि पशुपतिमा नै दाउरा बोक्ने, बागमतीमा सुन खोज्ने, चुम्बकले पैसा तान्ने त कहिले आर्यघाटमा आएका लासहरु जलाउने कामसमेत गर्दछन् । उनको दिनको सुरुवात पशुपतिमा नै, अनि रात पनि पशुपतिमा नै बित्ने गर्दछ । आमाबुबा नभएको अनि आफ्नो नातागोताको बारेमा केहि जानकारी नभएको उनलाई कहाँ कसरी आफ्नो पहिचान प्राप्त गर्ने भन्ने कुनै जानकारी नै थिएन । उनले चिनेजानेकाहरुसँग आफ्नो कागजातका लागि अनुरोध त गरे तर कहीँबाट पनि सोचेजस्तो सहयोग पाउन सकेनन् ।

उनी मैले काम गरिरहेको संस्था साथसाथमा पनि सानैदेखि सम्पर्कमा रहेको जानकारी पाए । उनलाई भेट्दा उनले सानो स्वरमा आफूलाई नागरिकता चाहिएको तर कसरी, कहाँबाट प्राप्त गर्ने थाहा नभएको बताएका थिए । उनीसँग अझ धेरै कुरा जानकारी लिनका लागि कुराकानी गर्ने क्रममा आमाबुबाको नागरिकता भएको, आफ्नो घर हेटौंडा भन्ने जानेको, तर कहाँ र को–को छन् केहि जानकारी नभएको बताए । उनले आफ्नो आमाबुबाको नागरिकता देखाएका थियो । उनको बाबुआमाको नागरिकता हेर्दा उनको घर र मेरो जन्मथलो एकै ठाउँमा रहेको हुँदा भावनात्मकरुपमा उनको बारेमा अझ जान्ने र बुझ्ने प्रयासमा लागेँ । त्यसका लागि मैले मकवानपुर जिल्लामा रेहको सडक बालबालिकाको बारेमा अनुसन्धान गरी स्थापना भएको मामाघर नेपालका संरक्षक मेरा आदरणीय अग्रज दाजु अर्पण पराजुलीलाई समन्वयका लागि अनुरोध गरेँ । मेरो अनुरोधलाई स्वीकार्दै उहाँले सहयोग गर्ने वाचा दिनुभयो र मैले पनि आफ्नै तरिकाले उनको परिवारको खोजी गर्न थालेँ ।

पुनः अर्पण दाइसँग भाइ र मैले प्रत्यक्ष भेटेर कुराकानी गर्ने क्रममा उहाँले हेटौंडा ३ का वड अध्यक्ष रामकुमार पुडासैनीसँग सम्पर्क गरेर सबै कुरा जानकारी गराउनुभयो । पुडासैनीले उक्त ठाउँ त अहिेले १९ नम्बर वडामा पर्छ भन्नुभएपछि पुनः अर्पण दाइले १९ नम्बरका वडा अध्यक्ष नवराज सुवेदीसँग सम्पर्क गर्नुभयो । सुवेदीले हाल उक्त ठाउँ हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा पर्छ भन्नुभएपछि वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेसँग सम्पर्क गरेर सबै कुरा जानकारी गराउनुभयो । र, हामी वडा कार्यालयतिर लाग्यौं । त्यहाँ वडा अध्यक्षज्यूसँग प्रत्यक्ष भेटेर सम्पूर्ण कुराको जानकारी गराएपश्चात् उहाँ आफैंले एलिस भाइको घर भएतिरको व्यक्ति, त्यहाँका स्थानीय प्रतिनिधहरुसँग सम्पर्क गरेर सोधपुछमा लाग्नुभयो । २ दिनको अथक प्रयासपछि उनको घर नकौलीमा रहेको र त्यहाँ अन्य नातेदार रहेको जानकारी पाएर हामी उनीहरुलाई भेट्न उनको गाउँ नै पुग्यौं । उक्त समय साँच्चै नै वर्णन गर्न नसकिने छ ।

२३ वर्षपछि एउटा बच्चाले परिवार पाएको थियो, आफन्त पाएको थियो अनि उनको शिरबाट अनाथको ट्याग हटेको थियो । हाम्रो कुरालाई सुन्नु भई त्यसका लागि पहल गरेर नागरिकताका लागि सिफारिस गरिदिनुहुने १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपाने, सचिव शान्ति लौडारी, जो आफू अस्वस्थ हुँदाहुँदै पनि उनलाई पहिचान दिलाउन कार्यालयसम्म आइदिनुभयो, जसका कारण एलिसले आमाबुबाको मृत्युदर्ता, आफ्नो जन्मदर्ता प्राप्त गर्न सफल भए भने सबैको सहयोगले उनले नागरिकता पनि प्राप्त गरे । यति लेखिरहँदा मैले छुटाउन नहुने व्यक्तिहरु, जसले प्रत्यक्ष यस कार्यमा सहयोग गनुभयो, उहाँहरुमा १ नम्बर वडा कार्यालयमा नै कार्यरत गणेशबहादुर बल, नकौलीकै स्थानीय खड्करत्न गोले तथा मेरो बाल्यकालका मित्र विष्णु श्रेष्ठ, भाइ अनिल आचार्यलगायत मेरा धेरै साथी तथा दाजुहरु हुनुहुन्छ, जसलाई म धन्यवाद दिन चाहन्छु ।

मेरो आफ्नै गृहजिल्ला, जहाँ मेरा सहयोगी हातहरु धेरै थिए, तर पनि त्यहाँ ३ महिनाको अथक प्रयासपछि एलिसले आफ्नो पहिचान प्राप्त गर्न सफल भए । तर, त्यस्ता सडक बालबालिकाहरु जो धेरै जिल्लाका छन् र धेरै कठिन अवस्थामा रहेका छन्, उनीहरुलाई पनि कानुनी पहिचान दिलाउन सके कति आनन्द आउँथ्यो होला । सबै ठाउँमा सविन न्यौपानेजस्तो वडा अध्यक्ष नहुन सक्छ अनि मेरा अग्रज दाजु अर्पण पराजुली नहुन सक्छ, जो सडक बालबालिकाका लागि अहोरात्र खटिनुहुन्छ, अनि उनीहरुको दिगो व्यवस्थापनका लागि दिलोज्यानले लाग्नुभएको छ । यदि राज्यले यस्ता बालबालिका र युवाहरुको कानुनी पहिचानसहितको दिगो व्यवस्थापनमा ध्यान दिने हो भने उनीहरुले पनि राज्यका लागि केहि न केहि योगदान दिनेछ । जय बालबालिका ।