हेटौंडा–२ स्थित सिद्धार्थ माविको निर्माणाधिन भवन ।

हेटौंडाः विद्यालय भवन यथाशिघ्र निर्माण सम्पन्न गर्न दबाब दिने उद्देश्यले मकवानपुरका १४ वटा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकहरुले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रिबहादुर पाठकलाई ध्यानाकर्षण गराएका छन् । निर्धारित समयमा विद्यालय भवनको निर्माण कार्य सम्पन्न नभएको भन्दै उनीहरुले निर्माण कम्पनिलाई दबाब दिन जिल्ला आयोजना कार्यान्वयन इकाईलाई ध्यानाकर्षण गराएको हो ।

भ्याली एण्ड लामा जेभीले गत बैशाख महिनामै निर्माण सम्पन्न गर्नुपर्ने मकवानपुर जिल्लाका विभिन्न १४ विद्यालयको शैक्षिक भवन अझै अधुरै रहेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको आज भएको एक भेलाले जिल्ला आयोजना कार्यालयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो । हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभाहलमा छलफल र निर्णय लगत्तै जिल्ला आयोजना कार्यान्वयन इकाईमा पुगेर कार्यालय प्रमुख पाठकलाई निर्णय पुस्तिकाको फोटोकपिसहित ध्यानाकर्षण गराएको हो । भूकम्पले क्षति पुर्‍याएका विद्यालयका भवनहरु जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधिन छन् ।

भवन निर्माणको कार्य पूरा गर्न दबाब दिने उद्देश्यले आयोजित छलफल ।

हेटौंडाको सिद्धार्थ मावि, चन्द्रोदय मावि, त्रिभुवन मावि, भीमफेदी गाउँपालिकाको बाराही मावि, श्री मावि कोगटे, मनहरी गाउँपालिकाको बाल जीवनज्योति आधारभूत विद्यालय, बकैया गाउँपालिकाको बुद्ध मावि, कालिका मावि, कर्मप्राप्ती मावि, मकवानपुरगढी गाउँपालिकाको शारदा माविका अध्यक्ष तथा प्रधानाध्यापकको भेलाले निर्माण कार्य गुणस्तरहिन भएको, विद्यालयकै विद्युत र पानी प्रयोग गरेर महसुल भुक्तानी नगरेको, किस्तामा भुक्तानी लिन गुणस्तरहिन रंगरोगन गरिएको, कतिपय विद्यालयमा निर्माण गरिसक्नु पर्ने समयमा २५ प्रतिशत पनि काम हुन नसकेको भन्दै प्रधानाध्यापकहरुले चिन्ता व्यक्त गरेका छन् ।

भीमफेदी गाउँपालिका–७, कोगटेस्थित श्री मावि कोगटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार आचार्यले भूकम्पले क्षति पुर्‍याएको भवन भत्काएर नयाँ भवन बनाउन सुरु गरे पनि निर्धारित समयमा निर्माण सम्पन्न हुन नसक्दा विद्यार्थीलाई खुला आकाशमा पढाउन बाध्य भएको बताउनुभएको छ । अहिलेसम्म २५ प्रतिशत पनि काम पूरा हुन नसकेको भन्नुहुँदै उहाँले ताकेता गर्दा गर्दा थाकिसकेको गुनासो गर्नुभएको छ । मनहरी गाउँपालिका–१ स्थित बाल जीवनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक एकराज गौतमकाअनुसार लकडाउनमा तराईबाट मजदुर आउन पाएनन् भनेपछि स्थानीयस्तरमै मजदुर व्यवस्थापनमा विद्यालय सहयोग गरे पनि निर्माण कम्पनिले दसैंमा समेत मजदुरको ज्याला नदिएर थप समस्या सिर्जना गरेको बताउनुभयो ।

निर्माणमा प्रयोग हुने सामग्रीको उचित व्यवस्थापन नगर्दा विद्यालय सुचारु हुने समयमा विद्यार्थीहरु दुर्घटनामा पर्ने जोखिम रहेको सिद्धार्थ माविका अध्यक्ष मधु बजगाईले बताउनुभयो । निर्माण कम्पनिको लापरबाही गरेको भन्दै सबै विद्यालयका अध्यक्ष, प्रधानाध्यापकहरु मिलेर प्रधानमन्त्री कार्यालयमै पुगेर गुनासो गर्ने तयारी समेत भइरहेको उहाँको भनाइ छ । बकैया गाउँपालिका–३ स्थित बुद्ध माविका प्रधानाध्यापक छविलाल बिकले निर्माण कम्पनिका अधिकारीले प्रधानमन्त्रीको सालो हुँ भन्दै विद्यालय र समुदायको चासोलाई बेवास्ता गर्ने गरेको बताउनुभयो । विद्यालय भवनको निर्माणमा गुणस्तर कायम हुन नसकेकोप्रति पनि उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।