कोभिड–१९ को महामारीले व्यापक रूप लिइरहेको बेलामा सुरक्षित प्रक्रिया अपनाएर आफू बाँच्नु र अरूलाई बचाउनु प्रत्येक नागरिकको कर्तव्य हो । शुरूका दिनहरूमा संक्रमित कम भएको समयमा हामी डराएर जति सजग र सर्तक भएका थियौं, अहिले त्यति नभएको कुरा पनि साँचो हो । जुन साध्य पनि छैन । चाहे जेसुकै भए पनि आफ्नो ज्यानको सुरक्षा गर्नु जुनसुकै व्यक्तिको नैसर्गिक अधिकार हो । यस्तो रोगव्याधी फैलिएको बेलामा आफू सुरक्षित भई सर्वसाधारणको जीवनरक्षा गर्ने प्रमुख जिम्मेवारी स्वास्थ्यकर्मीको हुन्छ । यही कोभिडको समयमा अरुको ज्यान बचाउन खोज्दा सयौं स्वास्थ्यकर्मीले ज्यान गुमाएका समाचार हामीले नसुनेका होइनौँ ।
कतिपय ठाउँमा स्वास्थ्यकर्मीले नै सामान्य बिरामी र अन्य रोगका बिरामीलाई पनि कोभिडको आशङ्का गरी अस्पतालमा प्रवेश नै नगराई बाहिरबाटै फिर्ता पठाएका उदाहरणहरू पनि हामीसँग ताजा छन् । सरकारले स्वास्थ्यकर्मीलाई दिने भनेको प्रोत्साहन भत्ता कसलाई, कसरी, कति दिने भनी मापन गर्ने निर्णय सरकारको हातमा छ । साँच्चै घर परिवार नै नभनेर जनताको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीको हौसला बढाउन सकिएन भने बाँकी दिनहरूमा उनीहरूमा काम गर्ने जाँगर कसरी बढ्ला ? फेरि जुनसुकै रोग लागेर बिरामी परेकालाई पनि अस्पताल प्रवेश नै नगराई बाहिरबाटै फिर्ता पठाउने स्वास्थ्यकर्मीलाई र अहोरात्र सेवामा खटिएका स्वास्थ्यकर्मीलाई एउटै मूल्यांकनको तराजुमा जोख्ने हो भने क–कसमा कति न्यायसंगत होला ?म एक सर्वसाधारण नागरिक हुँ ।
मेरो बसोबास हेटौंडा–५ अन्तर्गत दक्षिणकाली टोलमा रहेको छ । म हेटौंडाकै स्थायी बासिन्दा भएकोले मलाई हेटौंडा अस्पतालको उपचारको सन्दर्भमा आफूले अनुभव गरेकोे कुरा जानकारी गराउन मन लाग्यो । हुन त मलाई कसैप्रति पूर्वाग्रही बन्नु छैन । मेरो नजिकैको अस्पताल भएकोले एक्सरे, भिडियो एक्सरे गर्नुपर्दा र जटिल अवस्था आएमा म सोही अस्पताल जाने गरेकी छु । घरमा देवरबाबु (ध्रुवप्रसाद लामिछाने)र देउरानी बहिनी (एलिजा पुडासैनी) स्वास्थ्यकर्मी भएकोले सामान्य रोगको उपचार घरमै हुने गरेको छ । सानोतिनो रोगसँग पनि बढी डर लाग्ने भएकोले कहिलेकाहीँ सानो रोगलाई पनि गम्भीर ठानेर अस्पताल जाने पनि गरिन्छ । किनकि बिरामीको लागि डाक्टरको सही सल्लाह र सुझावले रोगीको आधा रोग त त्यत्तिकै निको हुन्छ जस्तो लाग्छ । बिरामीका लागि अस्पताल भनेको पवित्र मन्दिर हो र डाक्टरहरू भनेका भगवान सरह नै हुन् ।
हालसालैको ताजा घटनाले मलाई हेटौंडा अस्पतालको खुब स्मरण भइरहेको छ । घटना यही कार्तिक १८ गते मंगलबारको हो । कार्तिक १६ गते आइतबार मेरो बाँया खुट्टाको बूढीऔँलामा ठोकिएर ठूलै चोट लागेको थियोे । त्यसको सँगसँगै केही चोट सोही खुट्टाको चोर औँलामा पनि लागेको थियो । दुईदिन सामान्य ठानेर घरमा बसेँ । ठोकाई अत्यधिक भएको कारण दुखाई बढ्दै गयो । दुवै औँलामा बाहिरबाटै रगत जमेको देखिन्थ्यो । मासु फुट्यो कि हड्डी चर्किएको भन्ने शङ्का लागेर हेटौंडा अस्पतालमा उपचारको लागि गएँ । दिउँसोको १ः४५ बजेको थियो होला । गएर इमर्जेन्सीको लागि टिकट लिएर डाक्टरलाई देखाएँ । डाक्टरले चोट हेरेर एक्सरे गर्न सल्लाह दिनुभयो । इमर्जेन्सीबाट एक्सरेका लागि टिकट लिएर एक्सरे कक्षमा गएँ, अन्य बिरामी नभएकोले तुरुन्तै एक्सरे गराएँ र रिपोर्ट लिएर पुनः इमर्जेन्सीमा आएँ । डाक्टर को हुनुहुन्थ्यो थाहा भएन ।
नजिकै रहनु हुने सायद डाक्टर हुनुहोला उहाँ नजिकैको बोर्डको डाक्टरको कार्यतालिका मेटेर मिलाउँदै हुनुहुन्थ्यो । मैले उहाँसँग भने, “मेरो रिपोर्ट हेरिदिनुहुन्थ्यो कि डाक्टरसाव ? “उहाँले अर्को व्यक्तिलाई देखाएर भन्नुभयो, “रिपोर्ट उहाँ डाक्टरले हेर्नुहुन्छ ।” पछाडि फर्किएपछि हेरेँ। त्यतिखेर उहाँ मेरै पछाडि हुनुहुँदो रहेछ । उहाँले देखाएकै व्यक्तितिर रिपोर्ट लिएर अघि बढेँ । उहाँले देखाएको डाक्टरले नजिकै उभिएर भन्नुभयो, “को बिरामी ? के भएको बिरामी ?” नजिकैको महिला डाक्टरले उहाँको एक्सरे हेर्नु पर्ने भन्नुभयो । त्यसपछि डाक्टर भनी देखाएको व्यक्तिले एक्सरे हेरेर भन्नुभयो, “कान्छी औँला भाँचिएको छ ।” मैले भने, “डाक्टरसाव, मेरो समस्या कान्छी औँलामा होइन, बुढी र चोरी औँलामा हो । केही नै नभएको ठाउँमा यस्तो पनि हुन्छ र ? यसमा त कुनै पीडा नै छैन ।” उहाँले एस्सरेले त्यही देखाउँछ भन्दै एक्सरे मलाई थमाएर त्यहाँबाट अन्यत्र लाग्नु भयो । बिरामी हेर्दै रहनु भएकी महिला डाक्टरलाई मैले सोही कुरा फेरि बिन्ती गरेँ, “उहाँले पहिले भाँचिएको भए पनि एक्सरेमा देखाउँछ भन्नुभयो ।
जान्ने भएदेखि नै शरीरको कुनै पनि अङ्ग टुटफुट भएको आफूलाई थाहा छैन । झन् कुनै दुखाई नै नभएको र केही नै नभएको औँला भाँचिएको भन्ने कुरा कसरी पत्याउनु ? उहाँहरूको कुरा सुनेर चकित भएँ । महिला डाक्टरले मेरो पीडा देखेर दुखाई कम गर्ने औषधी लेखिदिनु भयो । सो औषधी अस्पतालकै फार्मेसीबाट लिएँ । उहाँहरूको सल्लाहले कत्ति पनि चित्त बुझेन र फेरि एकपटक एक्सरे गर्ने डाक्टर कहाँ गएर भने, “डाक्टरसाव मेरो बुढीऔँलामा बढी समस्या छ । एक्सरेमा कान्छी औँला भाँचिएको रिपोर्ट देखियो, यस्तो हुन्छ र ?” उहाँले कति पनि बोल्न जाँगर नदेखाई नमिठो स्वरमा भन्नुभयो, “त्यो डाक्टरलाई सोध्नुस्, हामीलाई थाहा हुँदैन ?” उहाँहरूको कुरा सुनेर मन अमिलो भयो । बेकार भनेछु जस्तो लाग्यो । मेरो नजिक अस्पताल, धेरै पुरानो सरकारी अस्पताल कस्ता डाक्टर ? कस्तो प्रविधि ? हरे ! उपचार प्रक्रिया । अझ गम्भीर रोग लागेको भए… जस्ता कुरा सम्झिँदै त्यहाँबाट घरतर्फ लागेँ । यही कुरा मनमा खेलिरह्यो । यस्तो कसरी भयो होला ? कि मेरो स्वास्थ्य बीमा भएकोले तत्काल निशुल्क जस्तो देखिएर उपचारमा ध्यान नदिई यसो भएको त हैन ? त्यसो त पक्कै होइन स्वास्थ्य बीमा पनि पैसा तिरेर नै गरेको हुन्छ । बीमा भएकै कारण यस्तो उपचार भएको होला त ? जस्ता कुराहरू मनभित्र खेलाउँदै, दुखाइको अत्यधिक पीडा बोकेर घर आइपुगेँ ।
घरमा आइसकेपछि पनि मन शान्त हुन सकेन । यस विषयमा मैले केही लेख्नै पर्छ भन्ने कुरा मनमा लागिरह्यो । मनमा पटक–पटक यही कुरा खेलिररह्यो । मलाई त सामान्य ठोकाइबाट भएको चोटको यस्तो रिपोर्ट आउँछ भने गम्भीर रोग लागेर उपचार गर्न गएमा के होला ? आजसम्म अरुले कस्तो पाएका होलान् । एउटा नाम चलेको अस्पतालको उपचार प्रविधि त यस्तो छ भने…। कि अस्पतालमा सम्बन्धित विशेषज्ञ छैन वा प्रविधि गलत छ भन्नु पथ्र्यो । कि यस्ता यस्ता बिरामीको मात्रै उपचार हुन्छ भनेर खुलाउन पथ्र्यो । यस्तै प्रक्रियाले उपचार गर्ने हो भने मजस्ता सर्वसाधारणको स्वास्थ्य के होला ? कोभिडले तीव्रता लिइरहेका बेलामा कोभिड लागेरै उपचार गराउन गइयो भने झन् कस्तो उपचार होला ? यस्ता अस्पतालको निरीक्षण कस्ले गर्छ होला ? यस्ता स्वास्थ्यकर्मीको मूल्यांकन कस्तो हुँदो हो ? जस्ता प्रश्नहरू मनमा उब्जिएका छन् ।
उपचार नगर्न पाइन्छ तर गलत उपचार गर्नु कति पाप ठहर्ला ? यस्तै उपचार प्रक्रिया अनुसार अगाडि बढी रहने हो भने हेटौंडा अस्पतालको गरिमा कहाँ पुग्ला ? समस्या हेटौंडा अस्पतालको प्रविधिमा हो कि व्यक्तिमा केही बुझ्नै सकिनँ । यसको वास्तविकता कहिले थाहा होला ? यस विषयमा अस्पतालका सञ्चालकहरूको ध्यान जानु एकदमै जरुरी देखिन्छ । स्थापित नाम चलेका हेटौंडा अस्पतालमा त यस्तो हुन्छ भने भर्खरै खुलेका निजी अस्पतालको अवस्था के होला ? अबदेखि बिरामीले उपचार गराउन हेटौंडा अस्पतालमा जाने कि नजाने ? बिरामीले सही उपचार कहिले पाउने ? जस्ता प्रश्नको जवाफ हामी जस्ता सम्पूर्ण सेवाग्राहीलाई चाहिएको छ । यस्ता कुराहरूको जानकारी धेरै भन्दा धेरैलाई हुन एकदमै जरुरी देखिएको छ । धन्यवाद ।