मनु मञ्जिल

मनु मञ्जिल यो समयमा प्रभावशाली कविता सिर्जना गर्ने कविका रुपमा परिचित हुनुहुन्छ । उहाँको ‘दुस्मन’ शीर्षकको कविता बहुचर्चित कविता हो । ‘आँधीको आवेग’ र ‘ल्याम्प पोष्टबाट खसेको जून’ उहाँको दुई कविता कृतिको नाम हो । कविताको पक्षमा गम्भीर वकालत गर्ने मनु नेपाली साहित्यमा नमेटिने छाप बनाइसकेका कवि हुनुहुन्छ ।

वि.सं. २०२७ असार १५ गते मकवानपुरमा बुबा वासुदेव खुलाल र आमा पद्मा खुलालको पुत्रका रुपमा जन्मिनु भएका मनु मञ्जिलले प्रारम्भिक शिक्षा मकवानपुरबाटै सुरु गर्नुभयो । मकवानपुर जन्मथलो भएपनि उहाँ धेरै समय मकवानपुर बस्न पाउनु भएन । उहाँको बुबा वासुदेव खुलाल कोे व्यापारमा अलिक ठूलो नोक्सानी आएपछि त्यो पीडा भुलाउन उहाँले लेखन सुरु गर्नुभएको बताउनुहुन्छ । निरन्तर लेखनमा समर्पित हुनभएका उहाँको वास्तविक नाम टङ्क प्रसाद खुलाल भएपनि मनु मञ्जिलका रुपमा लेखन वृत्तमा परिचित हुनुहुन्छ ।

‘दुस्मन’, ‘पहराको साँघुरो बाटोमा’ लगायत उहाँका प्रशिद्ध कविताहरू छन् । मनु मञ्जिल कवितामा कलाका आग्रही देखिनुहुन्छ । उहाँ सुन्दर भावका साथ कलात्मक कविताको अपेक्षा गर्नुहुन्छ । कविता लेखनपश्चात् पनि प्रकाशनको उस्तो हतारो गर्न नहुने उहाँको राय छ । जसरी मालीहरू बगैँचा सजाउन गोडमेल काँटछाँट गरिरहन्छन्, कवितामा पनि काँटछाँट र गोडमेल गरिरहनु पर्छ भन्ने विचार राख्नुहुन्छ । कविको व्यक्तित्व अब पूरातन छैन । आजका कविहरू समाजलाई आफूतिर अपिल गर्न सक्ने व्यक्तित्व बन्नुपर्ने उहाँको विचार रहन्छ ।

कविता लेखनमा आजको पुस्ताले एउटा फिलोसोफिकल जम्प गर्न आवश्यक रहेको उनको तर्क छ । ‘अ गुड पोएट वेट्स’ भन्ने सन्दर्भ सधैं कोट्याउनुहुन्छ र सघन कविताको अपेक्षा गर्नुहुन्छ । उहाँलाई लेखनको शुभकामनाका साथ उहाँको प्रभावशाली ‘दुस्मन’ कविताः

मेरो एउटा दुश्मन छ
जो मलाई फोहोरजत्तिकै घृणा गर्छ
तर म उसलाई फूलजत्तिकै मनपराउँछु ।

ऊ मेरो अनुहारमा घाम नउदाउनु भन्छ
मेरो बगैंचामा वसन्त नआउनु भन्छ
मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ
मेरो आँगनका फूलले नमगमगाउनु भन्छ
मेरा बाल बचेराले उसले सुन्ने गरी नकराउनु भन्छ
उसलाई दुख्ने गरी नरमाउनु भन्छ ।

ऊ आफ्नो घरको बार्दलीमा बस्छ
र, परबाट बाटो हिँड्ने जोकोहीलाई
मनमनै मेरो घर नपस्नू भन्छ
कोसेली वा उपहार बोकेका कोही नपसून् भन्छ
मन्दिरबाट आशीर्वाद लिएर फर्केका बूढाबूढीलाई
मेरो घर अगाडिको चौतारामा नबसून् भन्छ ।

उसलाई मेरो घरमाथि चरा बसेको मनपर्दैन
जून मेरो छानामाथि बसेको
मेरा खेतबारीमा भाग्य लहलह झुलेको
आँपका रूखमा आशाका फूलहरू फुलेको
कुलाको पानी मेरो गैरीखेतमा डुलेको
उसलाई केही मनपर्दैन ।

यो वर्षात् किन मेरो घरको छानो भत्काउँदैन ?
पल्लो गाउँको खोलो किन मेरो घरको बाटो आउँदैन ?
आगो किन यसरी आँगेनामा चुपचाप छ ?
किन झिल्को जुनकीरी जस्तो माथिमाथि उड्दैन ?
किन केही जलाउँदैन ?
ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ
मेरो घरमा आँधी आएर बसोस् भन्छ
राती चोर आएर भकारीमा घुसोस्
मेरा ओँठबाट मुस्कान उडेर बालुवामा गई खसोस् भन्छ
तर म उसलाई फूलजत्तिकै मनपराउँछु

यत्रो दुनियाँमा ऊबाहेकको अरू
मेरो साथी, सगोत्री
आफ्नो, अर्को
ठूलो, सानो
परिचित, अपरिचित
एउटै
कतै कोही छैन
जसले आफ्नै रहर र सपना भुलेर
घाम, पानी, फूल, जून र चराहरू भुलेर
घर, धर्ती र आकाश भुलेर
मबारे यतिबिघ्न सोचोस्
मलाई यतिबिघ्न सम्झोस्
दुश्मन नहुनु भनेको त
आफूतिर हरदम फर्किरहने
जीवनको एउटा पाटै नहुनु रहेछ ।
म उसलाई फूलजत्तिकै मनपराउँछु