भक्तपुरका प्रविण क्वाछा हेटौंडा–५ स्थित बालज्योति माविको दृष्टिविहिन बालबालिकाको शिक्षक हुनुहुन्छ । २०६३ सालदेखि नै राहत शिक्षकको रुपमा अध्यापन गराउँदै आउनुभएका दृष्टिविहिन शिक्षक क्वाछा पाँच वर्षदेखि हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविमा दृष्टिविहिन बालबालिकालाई पढाइरहनुभएको छ । आज अक्टोबर ८ अर्थात विश्व दृष्टि दिवस । विश्व दृष्टि दिवसकै सन्दर्भमा समाज सम्पादक सुरेश श्रेष्ठले दृष्टिविहिन शिक्षक प्रविण क्वाछासँग गर्नुभएको कुराकानीः
समाजः शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । यो दृष्टिविहिनता र दृष्टिको बारेमा विश्व दृष्टि दिवसले कस्तो किसिमको महत्व राखेको पाउनु भएको छ ?
क्वाछाः दृष्टि दिवसले असाध्यै महत्व राख्छ । संसार देखाउने अङ्ग आँखा हो । आँखाको दृष्टि नहुनु भनेको असाध्यै पीडादायी क्षण र स्थिति हो । हुन त भइसकेपछि चित्त बुझाउने आफ्नो ठाउँमा छ । तर सकेसम्म दृष्टि कसैको पनि नगुमोस् भन्ने हाम्रो चाहना हो । त्यस कारण हाम्रो अभियान दृष्टि रोकथाम र यसको उपचार भन्ने हामी छौं । भईसकेकालाई पुनस्र्थापना र शिक्षा पहुँच नै हामीले आफ्नो संघ खोलेर अधिकारको लागि हामी लडिरहेका हौं । सकेसम्म हाम्रो प्राथमिकता भनेको दृष्टिबाट बञ्चित नै नहोस् कोही दृष्टिविहिन हुन नपरोस् भन्ने हो ।
समाजः दृष्टि गुम्नुको कारण के–के पाउनु भएको छ ?
क्वाछाः हामीले विश्लेषण गर्दाखेरी दृष्टि गुम्नुको तीन/चार वटा कारणहरु रहेका छन् । जन्मजात वंशाणुगत हुन्छ । दुर्घटनामा परेर हुन्छ । डाक्टरको लापरवाहीले हुन्छ । कुनै समस्याले गर्दा, सानो समस्याले दृष्टि गुमेका हाम्रा साथीहरु छन् । दृष्टि के कारणले गुम्छ भन्ने यथार्थ कुरा थाहा छैन । तर आँखालाई जोगायो भन्ने ठिक हुन्छ । जोगाउँदा जोगाउँदै पनि दृष्टि गुम्न सक्छ । यो दृष्टिविहिन २/३ वटा कारणहरु रहेको छ । दृष्टि गुम्नुको पहिलो कारण रोग हो । त्यसपछि आएर खानपान र स्वास्थ्यमा लापरवाहीले गर्दा हुन्छ । त्यसपछि अहिले बढ्दो दुर्घटना नै मुख्य कारण रहेको छ ।
समाजः अधिकारको कुरा गर्दा नेत्रहिन व्यक्तिहरुका लागि अहिले के कस्ता अधिकार छन् । ती अधिकारहरु पर्याप्त छन् । अथवा त्यसमा अझै सुधार र अधिकारहरु आवश्यक देख्नु हुन्छ ?
क्वाछाः हामी दृष्टिविहिनको मुख्य माग भनेको शिक्षा, स्वास्थ्य, रोजगारी र दृष्टिविहिन मैत्री वातावरण सृजना गर्नु नै हो । कतिपय मागहरु राज्यबाट पूरा भएको पनि छ । पहिलाको तुलना अहिले धेरै राम्रो छ । सकारात्मक भएको छ । तैपनि जति सुविधा पाएपनि मान्छेलाई पुग्दै भन्ने हुन्छ । कतिपय आवश्यकताहरु अझैपनि पुरा भएको छैन । कतिपय हाम्रा साथीहरु बेरोजगार भएर बसिरहेको स्थिति छ । जस्तै शिक्षामा स्थायी पदपूर्ति गर्दा आरक्षणको कुरा छ । अपाङ्गता छुट्याएको आरक्षण भित्र पनि हामी जस्तो पूर्ण नदेख्ने दृष्टिविहिन र अलिकति सामान्य अपाङ्गता भएका व्यक्तिहरुलाई एउटै आरक्षणमा लडाइन्छ । जसका कारणले हामी असाध्यै पछि पर्यौं । अपाङ्गताको स्तर अनुसार वर्गाीकरण गरेर परीक्षा गर्नुपथ्यो ।
समाजः अहिले तपाई शिक्षण पेशामा हुनुहुन्छ । तपाईले यो पेशा गरिरहँदा के कस्ता असहजताहरु छन् अवथा सहजै ढङ्गले शिक्षण पेशा गरिराख्नु भएको छ ?
क्वाछाः मेरो व्यक्तिगत चाहनाले गर्दा, २०५२ सालमा जब म २०५० सालमा एसएलसी दिएँ, त्यो बेला सरकारले ५ जना शिक्षकको कोटा दिएको थियो । मेरो पनि नाम परेको थियो । तर मलाई शिक्षण पेशा आउन खासै चाहना थिएन । त्यसलाई मैले छाडेँ । २०६३ सालमा आएर त्यही पेशामा फर्किनु पर्दा मलाई अलिकति मन नराम्रो महसुस भएको छ । तर पन आइयो अब आइसकेपछि थाहा भयो । उमेर हदसम्म खानै पर्यो । यसमा सहजता र असहजता एकदमै छ । यसमा सहजतामा पढाउनु सजिलो पनि छ । बच्चाहरुले सहयोग गर्छन् । बच्चाहरुसँग घुलमिल हुन्छु । रमाईलो हुन्छ । पढाउनु केही गाह्रो हुँदैन । असहजतामा कहिलेकाहीँ बच्चाहरुलाई लेखेर बोर्डमा नै प्रस्तुत गर्नुपर्ने स्थितिमा मलाई नेपाली पढाउने भएकाले ह्रस्व–दीर्घ, स्वर वर्णविन्यास कुरा, शुद्धता अशुद्धता कुराहरु आउँछन् । त्यो सिकाउँदा भनेर बुझ्दैन, लेखेर देखाउनुपर्छ त्यस्तो असहजता आउँछ । परीक्षाको कपीहरु चेक गर्ने बेला अलि असहजता पैदा हुन्छ ।
समाजः हामीकहाँ दृष्टिविहिनहरुको शिक्षणका लागि उपलब्ध हुन सक्ने सामग्रीहरु कति प्रयोग भइरहेको पाउनु भएको छ ?
क्वछाः शिक्षणका लागि उपलब्ध भएको सामग्री ठिकठिकै रहेको छ । अरु जस्तो नहोला तर नेपालका लागि ठिकै छ । सिलेट र स्टालस छ । अनि ब्रेल चिन्ह डटहरु हामीसँग छ । त्यस्तै विभिन्न प्रकार धेरै होइन थोरै रहेको छ । ब्रेल चिन्हबाट सिकाउन गाह्रो छ । जस्तै प्लाष्टिक अक्षरमा अक्षरसँगै कलम जस्तै ए आकारको खापेको हुन्छ । त्यसमा ए लेखेको हुन्छ । त्यसले सिकाउन सजिलो हुन्छ । यो चरण धेरै लामो छ । पहिला थाम्न, लेख्न, पढ्न सिकाउनुपर्छ । कसैले छिटो सिक्छ । कसैलाई सिकाउन एक वर्ष लाग्छ । त्यसकारणले यो लामो प्रक्रिया रहेको छ ।
समाजः अहिले दृष्टिविहिनहरुका लागि के हुनु आवश्यक छ ?
क्वाछाः दृष्टिविहिनको अधिकारको लागि, दृष्टिविहिनहरुको सबैभन्दा पहिला शिक्षा नै हो । दृष्टिविहिन स्वास्थ्य भन्यो भने उपचारहरुलाई सरकारले उपचार गराई दिनै पर्छ । कतिपय दृष्टिबिहिन भएका व्यक्तिहरु राम्रोसँग उपचार गराए भने आँखा बन्न सक्ने स्थिति हुनसक्छ । तिनीहरुलाई ज्योति नै दिने शिक्षा ज्योति भएपछि भइहाल्छ । उपचार हुने दृष्टि र उपचार नहुने दृष्टि हुन्छ । उपचार हुनेलाई उपचार नै गराई दिने हो । उनीहरुले संसार देख्छ भने किन आफ्नो सङ्ख्या बढाउने । नेत्रहिनको चाहना भनेको बच्चाहरु दृष्टिविहिन नहोस् । उपचार हुन नसक्नेलाई शिक्षा, स्वास्थ्य, अधिकार पाउनु पर्यो । पढिसकेपछि रोजगारको सुनिश्चितता हुनुपर्यो । यो स्कूल तहमा अध्ययन–अध्यापन गराउन सजिलो छ । तर क्याम्पस तहमा अलि गाह्रो छ ।
समाजः समुदायबाट तपाईहरुले कस्तो सहयोग पाईराख्नु भएकोे छ ? अवथा कस्तो खालको सहजता महसुस गर्नुहुन्छ ?
क्वाछाः यो समुदायपिच्छे फरक हुन्छ । कतिपय समुदायमा दृष्टिविहिनको चेतना छ भने नराम्रो व्यवहार गरिँदैन । कतिपय ठाउँमा अलि नराम्रो व्यवहार गर्ने गर्न सक्छ । उनीहरुको आँखा नै छैन । शरीरको सबैभन्दा महत्वपूर्ण भाग भनेको आँखा नै हुन भन्न ठान्छन् । हामीले शरीरको जुन भागबाट महत्वपूर्ण हो भन्छौं, खुट्टा नहुनु गाह्रो हो, हात हुनुपनि गाह्रो हो । जिब्रो नहुनु पनि गाह्रो हो । उनीहरु आँखै सबथोक भनेर कस्तो व्यवहार गर्छ । तर पहलाको तुलनामा अहिले त्यती अभद्र व्यवहार सहन परेको छैन ।