ज्येष्ठ नागरिक अनुभवका खानी हुन् । ज्येष्ठ नागरिकको सम्मान, स्याहार गर्दै उनीहरुको सीप, अनुभव र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । परिवारमा सौहाद्र्धता नहुँदा ज्येष्ठ नागरिकहरु पीडित समेत हुने गरेका छन् । आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिक संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देलसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः ज्येष्ठ नागरिक दिवस मनाउँदै छौं । तपाई ज्येष्ठ नागरिक संघ मकवानपुरको अध्यक्ष हुनुहुन्छ । संघको आवश्यकता किन देख्नुभयो ?
सिग्देलः यो ज्येष्ठ नागरिकहरुको हकहितमा काम गर्नका लागि स्थापना भएको हो । विभिन्न संघ संस्था भएपनि ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने संघ संस्थाहरु थिएनन् । ज्येष्ठ नागरिक महासंघ पनि गठन भएको छ । महासंघ अन्तर्गत ज्येष्ठ नागरिक जिल्ला संघ हरेक जिल्लामा गठन भएका छन् । ज्येष्ठ नागरिकको हकहितका लागि काम गर्न देशभर दुई जिल्ला बाहेक अरु सबै जिल्लामा ज्येष्ठ नागरिक महासंघ गठन भइसकेको छ ।
समाजः जेष्ठ नागरिकको समस्या र पक्षमा गर्नुपर्ने कामहरु के–के छन् ?
सिग्देलः राज्यलाई सुझाव दिनका लागि एउटा सम्बन्धित संस्था आवश्यक पर्दछ । राज्यले कानुन बनाउँदा ज्येष्ठ नागरिकको पक्षमा कानुन बनाउन हामीले हरेक किसिमको सुझावहरु दिनु, कुनै बेलामा आवश्यक परेमा राज्यलाई आग्रह गर्न धेरै समस्या भयो । राज्यले बुझेर कानुनहरु बनाएका छन् । जे जति कानुनहरु बनेका छन् । ती कानुनहरु यथार्थ रुपमा राज्यबाट परिपालना र लागू भइराखेको छैन । कानूनमा भएको सुविधाहरु पनि ज्येष्ठ नागरिकहरुले पाउन सकेका छैनन् ।
समाजः तपाईहरुको माग के हो ? ज्येष्ठ नागरिकको पक्षमा के हुनुपर्छ ?
सिग्देलः ज्येष्ठ नागरिकहरुलाई यो समाजमा त्यति आदर, सम्मान गर्न सकेको छैन । ज्येष्ठ नागरिकहरुले सिकेका, अनुभव गरेका कुराहरु पछिल्लो पुस्तालाई एउटा मार्गदर्शन हुन सक्छ । अहिलेको समाज त्यो लागू भएको छैन । छोराछेरी पढायो उनीहरुलाई विदेश जान्छन् । यहाँ बुबाआमा विरामी हुँदा औषधी खुवाउने कोही हुँदैन । कानूनी उपचारका लागि ज्येष्ठ नागरिकहरुको पक्षमा खासै सरकारले ध्यान दिएको पाइएको छैन । ज्येष्ठ नागरिकलाई बढी प्राथमिकता दिनुपर्ने त्यो भएको छैन । धेरै ज्येष्ठ नागरिकहरु विचल्ली भएको अवस्था छ ।
समाजः ज्येष्ठ नागरिकहरुका लागि वृद्धाश्रममा पनि व्यवस्थापन गरिराख्नु भएको छ नि होइन ?
सिग्देलः हामीले ज्येष्ठ नागरिकहरुका लागि केही सहयोग पुर्याउन भनेर यो जिल्लाका ४ ठाउँमा वृद्धाश्रम चलाइराखेका छौं । एउटा ओम वृद्धाश्रम चौकीटोलमा रहेको छ । दिव्यसेवा निकेतन वृद्धाश्रम रातेमाटेमा, श्रीमद् भागवत सञ्चार वृद्धाश्रम जेष्ठ नागरिकको हकहितमा काम गर्ने पहिलो बृद्ध आश्रम हो । पछिल्लो समय बस्तीपुरमा सरेश्वर महादेव मन्दिरमा पनि आश्रम सञ्चालनमा रहेको छ ।
समाजः वृद्धाश्रम बढाउनु भन्दा परिवारको वातावरण सुधार तपाइँहरुको प्राथमिकताको विषय हुनुपर्ने होइन ?
सिग्देलः यो वृद्धाश्रम वृद्धि गर्ने हिसाब होइन । अप्ठ्यारो परेकालाई हामीले वृद्धाश्रममा सेवा दिने हो । जसको कोही र केही पनि छैन त्यस्तो अवस्थामा वृद्धवृद्धाहरुलाई सेवा पुर्याउनुपर्ने, राज्यको दायित्व भएपनि राज्यले गर्न नसक्दा हामीले यो गर्नुपर्छ भन्ने लागेर सुरु गर्यौं । अहिले भारको रुपमा पनि भइराखेको छ । वृद्धाश्रम रहरले होइन, यो बाध्यताले सुरु गरेका हौं ।
समाजः स्थानीय सरकारसँग तपाइहरुले के कस्ता कुराहरु राख्नुभएको छ । स्थानीय सरकारले ज्येष्ठ नागरिकको विषयमा के कति काम गरिराखेको पाउनु भएको छ ?
सिग्देलः केही त्यस्तो काम गरेको छैन । अहिले स्थानीय सरकारले नगरको १९ वटै वडामा वडास्तरीय ज्येष्ठ नागरिक क्लब बनाउने भन्ने निर्णय भएको छ । स्थानीय तहमा पनि वडैपिछे ज्येष्ठ नागरिकहरुको पक्षमा काम गर्ने संस्थाहरु गठन गर्नुपर्छ भनेर क्लब बनाउने केही बजेट प्राप्त भएको छ । क्लब गठन र काम पनि हुँदैछ । ज्येष्ठ नागरिक मिलन भनेर नगर बजेट बिनियोजन गरेको छ ।
समाजः स्थानीय सरकारले के गर्न सक्यो भने राम्रो हुन्छ ?
सिग्देलः हाम्रो धारणा र जिल्ला संघको अध्यक्षको हैषियतले के भन्न चाहान्छु भने यो सरकारलाई सरकार र निजीक्षेत्रको समेत लगानीमा ठूला पुँजीपतिमाध्ये पनि सःशूल्क र निशुल्क सेवा दिने खालको एउटा ज्येष्ठ नागरिक ग्राम बनाउनु पर्छ । जुन ग्राममा अस्पतालको व्यवस्था, पार्क, होस्टेल, योग आसनहरु गराउने, सामान्य घुमफिर गर्ने चौर भएको, ज्येष्ठ नागरिक ग्राम भनेर त्यस्तो अवधारणा भएको सरकार र निजी क्षेत्रको लगानी होस् । आफ्ना लागि क्वार्टर भाडामा लिएर बस्न सक्ने । यो खालको हाम्रो शुभेच्छा छ ।