संघीय राजधानीमा रहेको बागमती प्रदेश संघीयता कार्यान्वयनको नमूना बन्नु पर्ने हो । तर आजसम्मका काम कारवाहीले त्यो अब्बलता देखाउन सकिरहेको छैन । विकास निर्माणदेखि सामाजिक क्षेत्रमा गर्नुपर्ने धेरै योजनाहरु अझै बन्न सकेका छैनन् । साधन सुविधा सम्पन्न बागमती प्रदेश अरुको तुलनामा सबै क्षेत्रमा अगाडि हुनै पर्दछ । नीति नियम बनाउनेदेखि त्यसको कार्यान्वयनमा उदाहरण बन्नु पर्ने हो । प्रदेश २ ले संघीयताका केही मर्मलाई पछ्याउने प्रयास गरेको छ । उसले संघीय सरकारसँग अधिकारका लागि मुद्दा–मामिला समेत गर्दै आएको छ । बागमती प्रदेश सरकारले गर्नुपर्ने जति नसके पनि केही कार्यक्रम नमुनाका रुपमा अघि सारेको छ । नागरिकको अपेक्षा अनुसार गर्न नसके पनि सुरुवात सकारात्मक मान्नु पर्दछ ।

अन्य प्रदेश भन्दा केही फरक काम मध्ये बागमती प्रदेशले विद्यालय नर्स कार्यक्रम सुरुवात गरेको हो । हुन त यस्ता धेरै कार्यक्रमहरु नभएका होइनन् । त्यस मध्ये बढी प्रभावकारी यो कार्यक्रम देखिएको छ । प्रदेश सरकारले पहिलो वर्षबाट सुरुवात गरेको विद्यालय नर्स कार्यक्रम निकै उपयोगी बनेको छ । स्वास्थ्य सेवाको सबैभन्दा बढी आवश्यकता साना नानीहरुलाई नै हुने गर्छ । त्यस माथि पनि भर्खर विद्यालय जान थालेका बालबालिकामा स्वास्थ्य समस्याको जोखिम बढी हुन सक्छ । घरायसी वातावरणबाट विद्यालयमा पुग्दा स्वास्थ्य सावधानी बढी नै अपनाउनु आवश्यक हुन्छ । यसका लागि कस्तो वातावरण उचित हो भन्ने कुरा स्वास्थ्यकर्मीलाई जति अरुलाई जानकारी हुन सक्दैन । त्यसैले विद्यालयमा स्वास्थ्यकर्मीको दरवन्दि आवश्यक छ । अरु प्रदेशले सुरु नगरेको यो कार्यक्रम सबैका लागि नमूना बन्ने देखिन्छ ।

देशभरकै विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था हुन उपयुक्त देखिन्छ । संघीय सरकारको तर्फबाट नै देशभर यो कार्यक्रम लागु हुन आवश्यक छ । बागमती प्रदेशले पहिलो वर्ष केही विद्यालयमा नमूनाका रुपमा प्रयोग गरिएको थियो । त्यसको सफलतापछि कार्यक्रमलाई विस्तार गर्दै लगेको छ । यस वर्ष प्रदेशका २ सय ५७ विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू हुने भएको छ । पहिलो वर्ष नमूनाको रुपमा २० वटा विद्यालयबाट सुरु भएको विद्यालय नर्स कार्यक्रम गत वर्षमा १ सय १ विद्यालयमा विस्तार गरेर १ सय २१ विद्यालयमा सञ्चालित थियो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले थप २ सय ३७ विद्यालयमा नर्स कार्यक्रम विस्तार गरेसँगै अब प्रदेशका सबै स्थानीय तहका ३ सय ५८ विद्यालयमा सञ्चालन हुने भएको छ ।

कार्यक्रम राम्रो हुँदा हुँदै पनि केही चुनौती देखिन्छन् । कुनै कार्यक्रम सुरुवात सुखद् हुन्छन् । तर त्यसको निरन्तरतामा आशंका गरिन्छ । हुन त नागरिकसँग प्रत्यक्ष जोडिएको यो कार्यक्रम जसरी पनि निरन्तर हुनुको विकल्प छैन । चुनौतीपूर्ण भए पनि आवश्यक कार्यक्रमका लागि जसरी पनि बजेट व्यवस्थापन गर्नुको विकल्प हुँदैन । विषयगत शिक्षकको अभावमा पठनपाठन प्रभावित हुने भन्दै जसरी पनि व्यवस्थापन गरे जस्तै नर्सको दरबन्दि पनि अनिवार्य हुनु पर्दछ । यस्तै नर्स भर्ना प्रक्रियादेखि योग्यताका सम्बन्धमा भनसुन र आफन्तको गुन्जायस हुनु हुँदैन । तोकिएको मापदण्ड र विधि अनुसार नर्सको नियुक्तीले निरन्तरता पाउनु पर्दछ । कार्यक्रममा मात्र सिमित नभई विद्यालयमा नर्सको स्थायी दरवन्दिको व्यवस्था हुनु आवश्यक छ ।