हेटौंडाः हेटौंडास्थित मालपोत कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भएको छ । कार्यालयमा भौतिक दूरी बिना नै सेवाग्राहीहरु खचाखच भरिएका छन् । सरकारले सुरक्षका विधी अपनाई काम कारवाही गर्न निषेधाज्ञा खुकुलो गर्दै गर्दा सरकारी कार्यलयमा नै भौतिक दूरी बिना नै सुरक्षाका विधी नअपनाई कार्यालयको कार्य भइरहनु जोखिमपूर्ण मात्रै नभई लज्जास्पद विषय समेत बनेको छ ।

मालपोत कार्यालयले आइतबार, मंगलबार र बिहीबार दृष्टीबन्धक, धितोबन्धक रोक्का तथा फुकुवा सम्बन्धी अत्यावश्यक सेवाहरु र सोमबार, बुधबार र शुक्रबारको दिन रजिनामा लगायतका अन्य लिखित पारित गर्ने सेवाहरु दिइरहेको जनाएको छ । विहान १० बजेदेखि ३ बजेसम्म सेवा सुचारु गरिरहेको र ३ बजेपछि कार्यालयको आन्तरिक कामकारवाही गर्ने गरेको मालपोत कार्यालय मकवानपुरका प्रमुख बासुदेव खतिवडाले बताउनु भयो ।

कार्यालयले कोरोना महामारीलाई मध्यनजर गर्दै कार्यालयबाट हुने सबै काम एकैदिन गर्दा धेरै भीडभाड हुनेभएको र कोरोना रोग सर्न सक्ने जोखिमलाई न्यूनीकरणका लागि कार्यालयबाट हुने कार्यहरुको तालिका बनाएको र सेवा लिन आउने सेवाग्राहीहरुलाई पनि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी पालोमा बसी भीडभाड नगरी सेवा लिन सूचना जारी गरेपनि व्यक्ति आफैं पनि संवेदनशील नहुँदा समस्या आईरहेको कार्यालय प्रमुख खतिवडाले बताउनुभयो ।