शंकरलाल श्रेष्ठ, अध्यक्ष, होटल एसोसिएसन मकवानपुर

झण्डै सात महिनापछि सरकारले उच्च सतर्कता अपनाएर होटल व्यवसाय सुचारु गर्न खुला गरिदिएको छ । सात महिनादेखि बन्दाबन्दीमा परेको होटल व्यवसाय असोज १ गतेदेखि सुचारु भए पनि सेवाग्राही नआउँदा व्यवसायीमा उत्साह थपिएको छैन । यसबीचमा कतिपय व्यवसायीले होटलका कामदार मजदुरलाई बेतलबी विदामा पठाएको, आधा तलब दिनुले कामदार मजदुरको समस्या अझ संवेदनशील बनेको छ । यिनै सन्दर्भमा होटल संघ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः लकडाउन र निषेधाज्ञा करिब ५ महिनाको अवधिपछि औचारिक रुपमा सरकारले होटलहरु असोज १ देखि सुचारु गर्न भन्यो । अहिले मकवानपुरका हेटौंडाका होटलहरु कसरी सञ्चालन भईराखेका छन् ?
श्रेष्ठः अहिले खासै सार्वजनिक यातायातहरु पनि चलेन । सबैले अहिले जताबाट पुग्ने भयो कुनै रोकटोक नै भएन । रोगको केही उपचार पनि निस्केको छैन । त्यसकारण एकदम जरुरी, अति आवश्यक परेको काम बाहेक मान्छे घुम्ने–फिर्ने एउटा पर्यकटकीय आन्तरिक पर्यटकीय हिँड्ने मान्छेहरु थियो । तिनीहरु पनि हिँडेका छैनन् । अहिले न्यून तरिकाले होटलहरु चरिरहेका छन् । चल्ने भनेको मात्र हो जुन किसिमले चल्ने हो त्यो किसिमले चलिराखेको छैन ।

समाजः होटल एसोसिएसनले आफ्ना सदस्य व्यवसायीलाई सतर्कता लागि के–के कुरामा ध्यान दिन भनेको छ ?
श्रेष्ठः अस्ति नै हामीले विज्ञप्ति निकालेको थियौं । अब होटलमा आउने पाहुनालाई ज्वरो नापेर प्रवेश गराउने, मास्क लगाएर मात्र भित्र प्रवेश गराउने, भित्र प्रवेश गरिसकेपछि सकेसम्म साबुन पानीले हात धुने, सेनिटार्जर प्रयोग गर्ने, दूरी कायम गरेर व्यवहार गर्ने, काउण्टरमा बस्नेहरु मास्क र सेनिटाइजर प्रयोग गर्ने, होटलमा कोठामा बस्नेहरु सबैले मास्क प्रयोग गर्ने, मास्क लगाएर आउने ग्राहकलाई कोठासम्म पुर्‍याउने, एउटा कोठामा बस्ने पाहुना गइसकेपछि कपडाहरु चेञ्ज गर्ने, सेनिटाज गरेर पुन प्रयोग गर्ने भनेका छौं ।

समाजः लकडाउनको समयमा होटलमा कार्यरत कामदार, मजदुरहरुको विषयमा धेरैले पारिश्रमिक नपाएको, बेतलबी विदामा पठाएको कुरा आएको छ नि ?
श्रेष्ठः कतिपय होटलहरुमा घरभाडा र परिवार लिएर बस्नेहरु अब लकडाउन भयो भनेर घर जान्छु भन्नेहरु अब कोहीकोही बसेको थियो । त्यसका लागि होटलवालाले तलब दिएर राख्यो । अब होटलवालाले मात्र कसरी व्यवस्थान गर्ने ? घरबेटीलाई भाडा पैसा एक ठाउँ छ, विद्युतको बिल तिर्ने एक ठाउँमा छ, पानीको बिल तिर्ने एक ठाउँमा छ, इन्टरनेट एक ठाउँ छ । अब के–के गर्ने ? सरकारले वास्तवमा अहिलेसम्म त्यस्तो किसिम हेरेको पाइएको छैन । हामीले सबै गर्नुपर्ने भयो । कति होटलवालाले घरबेटीको भाडा पनि दिन सकेका छैनन् । केही घरबेटीले १/२ महिनाको छुट गरेका छन् । उनीहरुले पनि बैङ्कको ऋण तिर्नुछ, कतिपय घरबेटीहरुको घरभाडा नै प्रमुख आम्दानीको स्रोत छ । अब भाडामा बस्नेहरुले भाडा तिर्नु पर्‍यो । जति महिनाको छुट भएपनि । अर्को कुरा के हो भने यो लकडाउन कति महिनासम्म हुने कुरा यो निर्णय पनि भएन । अहिले ६ महिनासम्म भयो । सानो तिनो होटललाई गाह्रो भयो । कतिपय सानोतिनो होटलहरु विस्थापन भएको होला । अब हामीले निषेधाज्ञामा कति विस्थापित भयो भन्ने विस्तारै खोज्दैछौं ।

समाजः यस बीचमा केही होटल क्वारेन्टिन र आईसोलेशनको रुपमा प्रयोग गरिने भन्ने पनि थियो । यसले पनि व्यवसायीलाई केही सहज भयो होला नि ?
श्रेष्ठः त्यो चाही खासै भएन । लकडाउनमा उद्योगमा काम गर्ने कामदार मजदुरहरु अलिअलि बस्यो । अलि सुरु भयो फेरी होम आइसोलशनमा बस्ने कुरा पनि आयो । होटलमा बस्नेहरु घरमै बसे । खासै केही हुन सकेन । कुनै कुनै होटलहरु अलिअलि राख्यो । अरु उद्येगमा काम गर्नेहरु १/२ दिन बस्यो । यातायात पनि बन्द भयो । त्यही भएर केही त्यस्तो भएन ।

समाजः होटल एसोशिएसनले होटल व्यवसायीको विषयलाई लिएर व्यवस्थित गर्ने अथवा उनीहरुको सहजताका लागि थप के काम गर्ने योजना बनाएको छ ?
श्रेष्ठः हामीले प्रदेशसँग यो विषयमा बैङ्कको विषयमा अलि, मौद्रिक नीतिसँग अलि सहजता पायौं । ठूला होटलहरुले मात्र राहत पायो । जसको ठूलो लगानी छ, जसको आफ्लै व्यवस्थापन छ, त्यसले पायो । भाडामा बस्नेहरुले पाएन । घरमा बस्नेहरु भन्दा भाडामा बस्नेहरु बढी छ । उनीहरु अझै पीडित नै छन् ।

समाजः यो अवधिमा व्यवसायीका समस्यालाई समाधान गर्ने विषयमा संघले व्यवसायीहरुलाई परामर्श गर्ने र अरु सरकारोवालालाई पनि जिम्मेवार हुन प्रेरित गर्ने गरी कस्तो पहल गरेको छ ?
श्रेष्ठः संघले बजेट आउनु भन्दा पहिला प्रदेशमार्फत संघीय सरकारलाई प्रधानमन्त्रीसमक्ष ज्ञानपनपत्र बुझाएका थियौं । तर, खासै सुनुवाई भएन । पछि मौद्रिक नीति आयो । मौद्रिक नीतिले ठूला होटलहरुलाई मात्र केही लाभ भयो । साना होटलहरुले कुनै राहत पाएनन् । साना होटल गरेर बस्नेहरु जोसँग धितो राख्ने केही थिएन, उनीहरुका लागि केही पनि राहत भएन । अहिले पनि यसका लागि महासंघले पहल गरी नै राखेको छ ।