कृष्णप्रसाद भण्डारी – अधिवक्ता एम.ए.अर्थशास्त्र, एम.पि.ए.बि.एल


पृष्ठभूमिः बि.पि. कोइराला बि.सं. १९७१ भाद्र २४ मा तत्कालिन ब्रिटिश इण्डियाको बारणासीमा जन्मेका र उनको शिक्षा दिक्षा वनारसमा नै भएको थियो । वि.पि.ले वि.सं. १९९१ (सन् १९३४) मा वनारस विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक र वि.सं. १९९४ (सन् १९३७) मा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातक अध्ययन पूरा गरेका थिए ।

वि.पि. एक महान प्रजातान्त्रिक समाजवादी राजनेता, उत्कृष्ट आख्यानकार कुशल र सिद्धहस्त विचारक थिए । वि.पि. को प्रजातन्त्र, समाजवाद, अर्थतन्त्र सम्बन्धी चिन्तन उल्लेखनीय थियो । नेपाली साहित्यमा उनले सिग्मण्ड फ्रायडको मनोविज्ञान आफ्ना पात्रहरुमा प्रयुक्त गरेका छन् । मूलतः उनी राजनीतिक व्यक्ति भएर पनि साहित्यमा राजनीति कहिल्यै मिसाएनन् न त साहित्यलाई राजनीतिले धमिल्याउने काम गरे । उनका साहित्यहरु नेपालको समसामयिक सामाजिक यथार्थमा आधारित समस्या र यौनजन्य मानसिक समस्याको विश्लेषण गरिएको पाइन्छ ।उनी विद्यार्थी जीवनमा वि.सं. १९८७ मा ब्रिटिश इण्डिया सरकारको पक्राउमा परी ३ महिनासम्म थुनामा परेका थिए । उनी भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक हुनुका साथै वि.सं. १९९१ देखि भारतीय राष्ट्रिय काग्रेसमा समेत संलग्न भई काम गरेका थिए । भारतमा आन्दोलन चलिरहेको अवस्थामा नेपालमा पनि राणाहरुको एकतन्त्रीय जहानीया शासन विरुद्ध पनि आन्दोलन जारी थियो । सोही अवस्थामा मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा नेपाली राष्ट्रिय कांग्रेसको र सूवर्ण शम्शेरको नेतृत्वमा नेपाली प्रजातन्त्र कांग्रेसको स्थापना समेत भएको थियो । वि.पि. कोे पहल र सक्रियताले यी दुबै पार्टीहरु एकीकरण भई वि.सं. २००६ चैत्र २८ मा नेपाली कांग्रेस पार्टीको स्थापना भएको थियो ।

वि.सं. २००४ मा भएको विराटनगरमा मजदुर आन्दोलनमा बि.पि. गिरफ्तारीमा परी जेलमा परेका थिए । जेलमा २७ दिनसम्मको लामो भोक हड्ताल गरेपछि उनी जेलबाट मुक्त भएका थिए । २००७ सालमा फागुन ७ गते नेपालमा प्रजातन्त्र आयो । १० फागुन, २००७ मा मोहन शम्शेरको नेतृत्वमो राणा–काग्रेस संयुक्त सरकार गठन भयो । सो सरकारमा बि.पि. कोइराला गृहमन्त्री भएका थिए । यो सरकारको कार्यकाल २६ कार्तिक, २००८ सम्म ९ महिना रह्यो ।

राणा कांग्रेसको संयुक्त सरकार भंग भएपछि वि.पि. पार्टी संगठनमा लागे । नेपाली कांग्रेसलाई समाजवादी धारमा गठन गरे । उनी १३ जेठ, २००९ देखि १० माघ, २०१२ सम्म नेपाली कांग्रेसको पार्टी सभापति पनि भए । वि.पि. को नेतृत्वमा २०१५ को संसदीय चुनावमा नेपाली कांग्रेस विजयले प्राप्त ग¥यो र वि.पि. कोइरालाको नेतृत्वमा सरकार गठन भयो । तर, २०१७ साल पौष १ गते राजा महेन्द्रले सरकार अपदस्थ गरे । उनलाई बन्दी बनाइयो ।

समसामयिक विश्व परिवेश र समाजवादको अभ्युदय
१) तत्कालिन समयमा पश्चिमी मुलुकहरुमा पूँजीवादी अर्थव्यवस्था थियो । उनीहरुको आफ्नै मूल्य मान्याताहरु थिए । सो समयमा भारतमा महात्मा गान्धी थिए । गान्धी पश्चिमी सभ्यताको आलोचक थिए । गान्धीको विचारमा पश्चिमी मुलुकहरुले भने जस्तो औद्योगीकरण, शहरीकरण र प्रविधि आवश्यकता पूर्तिका लागि आवश्यक छैनन् । उनले ग्रामीण स्वराज र आत्मनिर्भर गाउँ अर्थतन्त्रका लागि स्थायी आधारभूत आवश्यकता हो भन्थे ।
२) उता तान्जनीयाका राष्ट्रपति जुलियस नेरेरेको सोच पनि त्यस्तै थियो । नेरेरे वैदेशिक सहायताले अफ्रिकन मूल्यलाई नास गर्छ र परनिर्भरता गराउँछ भन्ने मान्यताले वैदेशिक सहयोग अस्वीकार गर्थे । अर्कोतर्फ चीनमा माउत्से तुङले पश्चिमी पूँजीवाद अस्वीकार गर्दै चिनीयाँ मूल्य अनुसार माओवादी राजनीतिक अर्थतन्त्रको निर्माण गरेको अवस्था थियो ।
३) यसरी साझा रुपमा यी नेतृत्वहरु सबैले आत्मविश्वास, आत्मनिर्भर र स्थानीय मूल्य र परिवर्तनको निमित्त जनता केन्द्रित पहुँचलाई स्वीकारगरी मुलुकको समृद्धिको निमित्त वैकल्पिक बाटो पहिचान गरेको अवस्था थियो । उनीहरु सबैले पाश्चात्य आधुनिकीकरणलाई स्वीकार नगरी आलोचना गरेका थिए ।
४) यसरी विश्वमा उदार पूँजीवादी र कम्युनिष्ट दुईवटा विचारधारामा बाँडिएर यी दुई बीच शीतयुद्धको अवस्था थियो ।
५) यही पृष्ठभूमिको प्रतिक्रिया स्वरुप पूँजीवादी र कम्युनिष्ट विचारधाराहरुसँग असंलग्न रहेका अफ्रो एशियाली मुलुकहरुले केही पछि असंलग्न आन्दोलनलाई जन्म दिए ।

यो विश्व परिवेशमा नेपालमा वि.पि. कोइरालाको उदय भएको थियो । यही समयको सेरोफेरोमा सोसलिष्ट एशोसियसन गठन गर्ने पहल भए । सोसलिष्ट एशोसियसनका लागि पहल गर्ने व्यक्तिहरुमा वि.पि. प्रमुख व्यक्तित्व थिए । फलस्वरुप वि.पि.को नेतृत्वमा बि.सं. २००७ (सन् १९५० को मध्यमा) मा एशियन सोसलिष्ट एशोसिएसनको विधिवत स्थापना भयो र उनी सो एशियन सोसलिष्ट एशोसिएसनको अध्यक्ष भए । यसरी वि.पि. पूँजीवादी र साम्यवादी भन्दा भिन्न समाजवादी धारमा खडा भए ।

एशियन सोसलिष्ट एशोसिएसन स्थापना भएपछि एशियाका समाजवादी राजनीतिक पार्टीहरुले वि.सं. २०१० अर्थात सन् १९५३ मा म्यानमारको यांगुन (तत्कालिन बर्माको रंगुन) मा एशियन सोसालिष्ट सम्मेलन गरे । नेपाली कांग्रेस पार्टीको नेतृत्व गर्दै बि.पि. कोइराला सो सम्मेलनमा सहभागी भए । सो सम्मेलनले एशियन विशेषताको समाजवाद प्रस्ताव गर्‍यो । नेपालमा वि.पि. कोइरालाले अथ्र्याउनु भएको समाजवाद नै एशियन विशेषताको समाजवाद हो भन्न सकिन्छ ।

नेपाल सोसलिष्ट इण्टरनेशनलको सदस्य भएको र त्यसको अध्यक्ष समेत भएका नाताले उक्त समयमा जननेता वि.पि. कोइरालाको विश्वका विभिन्न समाजवादी नेताहरुसँग सम्पर्क थियो । सम्पर्कमा भएका नेताहरुमा बिलि ब्राण्ट, जर्मन चान्सलर, भारतका उपनिवेश विरोधी नेताहरु मोहनदास करमचन्द गान्धी, जवाहरलाल नेहरु, राममनोहर लोहिया तथा चीनका नेता माओत्से तुङ आदि थिए ।

समाजवादी सम्मेलनको मर्म अनुरुप नेपाली कांग्रेस पार्टीलाई वि.पि. ले समाजवादी धारामा स्थापित गरेका थिए । उनले वैयक्तिक स्वतन्त्रता, नागरिक तथा राजनीतिक अधिकारहरुका लागि नेपाल जस्तो गरीब मुलुकमा प्रजातान्त्रिक समाजवाद नै उपयुक्त हुन सक्छ भन्ने दृष्टिकोण एवम् विश्वास राख्थे । उनले आफ्नो जीवनको अन्त्यसम्म पनि प्रजातान्त्रिक समाजवाद, अर्थव्यवस्था र आर्थिक विकास सम्बन्धी आफ्नो मत विभिन्न लेखमा, संस्मरणमा, भाषणमा र अन्तर्वार्ताहरुमा निरन्तर सञ्चार गरिरहे ।

समाजवाद के हो ?
सबैले समाजवादलाई एउटै हिसाबले व्याख्या गरेको पाइँदैन । कसैले भन्छन्, समाजवाद सामाजिक संगठनको राजनीति र आर्थिक सिद्धान्त हो । कसैले समाजवादले उत्पादनका साधन, वितरण र विनिमय समुदायको स्वामित्वमा राखेर उनीहरुद्वारा नै नियमन हुनु पर्छ भन्ने कुराको पैरवी गर्छ भनेका छन् । त्यस्तै कसैले भन्छन्, समाजवाद आर्थिक, सामाजिक र राजनीतिक दर्शन हो । यसले उत्पादनका साधनमा सामाजिक स्वामित्वलाई समेट्छ ।

कोही भन्छन् समाजवाद सरकारको एक स्वरुप हो । जसमा अधिकांश सबै प्रकारका सम्पति, उत्पादनका साधन, प्राकृतिक स्रोतहरु राज्यको नियन्त्रणमा हुन्छन् । उनीहरुको भनाइमा उत्पादनका साधनहरुमा रहने सार्वजनिक स्वामित्वले साधारण जनसंख्याको आवश्यकता र चाहना अनुसार समतामूलक तरिकाले वितरण गर्न सकियोस् भन्ने रहेको देखिन्छ ।समाजवादमा कम्तिमा पनि मुख्य उत्पादनका साधन राज्यको नियन्त्रणमा रहन्छन् । ज्याला, मूल्य, उत्पादन र वितरण, बस्तु तथा सेवाको केही हदसम्म नियमन र नियोजन गरिन्छ । तर, यसको विपरित पूँजीवादमा उत्पादनको साधनहरु निजी स्वामित्वमा हुन्छन् । ज्याला, मूल्य, बस्तुको परिमाण, किसिम तथा उत्पादन स्वतन्त्र वजारमा व्यक्तिको नियन्त्रणमा रहन्छन् । समाजवादलाई विभिन्न किसिमहरुमा वर्गीकरण गरेको पनि पाइन्छ ।

समाजवादको परिभाषा गर्न त्यति सहज छैन, गाह्रो छ । समाजवादको सम्बन्धमा मतैक्यता पाइन्न । किनकि यसमा समूहगत हिसाबमा मत–मतान्तरहरु विद्यमान छन् ।

यस्ता केही समूहहरु
1) शुरुआत कर्ताहरु वा प्रारम्भ कर्ताहरु, २) आदर्शवादी समाज सुधारकहरु, ३) व्यवहारवादीहरुको समूह आदि ।समूहगत मत–मतान्तरहरु हुँदाहुँदै पनि प्रजातान्त्रिक समाजवादका आवश्यक सिद्धान्त र मूल्यहरुका सम्बन्धमा एउटा सम्झौता गरी उक्त सम्झौताद्वारा निम्न विषयहरु प्रजातान्त्रिक समाजवादका लागि आवश्यक ठानियो । यद्यपि मुलुकको खास अवस्था र विकासका आधार असमान हुने परिप्रेक्षमा यो सिद्धान्तको प्रयोगमा पनि एकरुपता हुन नसकी प्रयोगमा विभिन्नता देखिएका छन् ः
– प्रजातन्त्र र आवधिक निर्वाचन
– समानता र सामाजिक न्याय
– कल्याणकारी कार्यक्रम
– संयुक्त, सामूहिक र सहकारितात्मक स्वामित्वलाई समर्थन
– शोषण बिहीनता
– आर्थिक असमानता घटाउने
– आर्थिक शक्तिको विकेन्द्रीकरण र आधारभूत आवश्यकतामा राज्यको उत्तरदायित्व

वि.पि. र समाजवाद

वि.पि.को दृष्टिकोणमा समाजवादका विभिन्न पहलुहरु छन् । समाजवादका व्यवहारिक पक्ष र सैद्धान्तिक पक्ष, राजनीतिक स्वतन्त्रता, समान आर्थिक अवसर, समानता र वितरण एवम् उत्पादन प्रणाली आदि । समाजवादसँग यी तमाम विषयहरु अन्योन्याश्रित छन् ।वि.पि. भन्छन् व्यवहारिक समाजवाद भोको मानिसका लागि एकमुठी चिउरा हो । सैद्धान्तिक रुपमा भन्दा साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ । समाजबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद रहन्छ । उनका अनुसार समाजवादको लक्ष्य समानता हो । जनतालाई समाजवादले मात्र राजनीतिक स्वतन्त्रता र समान आर्थिक अवसर दिन सक्छ भन्ने कुरामा वि.पि. विश्वास राख्थे । वि.पि.को प्रजातान्त्रिक समाजवाद भन्नु नै राजनीतिक स्वतन्त्रता र आर्थिक समानताको योग हो । उनका अनुसार समाजवाद नै भविष्यको आयाम हो । वि.पि. कम्युनिष्टहरुको राय विपरित मान्छे रोटीले मात्र बाँच्दैन र पूँजीवादीको राय विपरित अनियन्त्रित उपभोक्तावाद अनैतिक हुन्छ भन्ने मान्यता राख्थे । वि.पि. को समाजवादका मौलिक र आधारभूत मान्यताहरु मूलरुपमा निम्न थिए
१) अर्थव्यवस्था नै समाजको विकासको कारण हो ।
२) समाजमा उपलव्ध सबै उत्पादनका साधन भूमि, पूँजी, प्रबिधि र श्रमलाई समाजले नियन्त्रण गर्छ । (निर्वाचित जनप्रतिनिधिहरुले राज्यको पूँजी नियन्त्रण गर्न र कहाँ र कसरी प्रयोग गर्ने भन्ने निर्णय पनि गर्न सक्छ ।)

वि.पि.का अनुसार समाजवाद आदर्श वा राजनीतिक नारा मात्र होइन । यसमा उत्पादन र उत्पादन प्रणाली सँगसँगै जानुु पर्छ । यी दुबै समाजवादका अंग हुन् । समानतालाई संकुचित नबनाइकन समाजवादलाई आर्थिक र राजनीतिक समानताको रुपमा बुझनु जरुरी हुन्छ ।वि.पि.को विचारमा समानता भन्नु अवसर र साधनको वितरण हो । उनी भन्छन् आर्थिक समानता, समाजको उत्पादन क्षमतासँग सम्बन्धित हुन्छ । थोरै परिमाणमा उत्पादन गर्ने र आवश्यकता भन्दा थोरै परिमाणमा वितरण गर्ने कार्यबाट आर्थिक न्याय हुनै सक्तैन । समान र न्यायपूर्ण (पुग्ने गरी) तरिकाले वितरण गर्न सकिने परिमाणमा वस्तु उत्पादन गर्न सकियो भनेमात्र मानिसले न्याय भएको महसुस गर्न सक्छ ।

यसै सन्दर्भमा नेपाली कांग्रेसमा प्रजातान्त्रिक समाजवाद आवश्यक मानिएको र त्यसरी आवश्यकता मानिनु पछाडिका कारणहरु निम्न हुन् भनिएको छ
– जमिनको स्वामित्वका आधारमा परम्परागत शक्ति भएका र शक्तिको संरचनासँग सम्बन्ध भएका सामन्तवादी अवस्थाको अन्त्य गर्न ।
– विर्ता, जमिन्दारी जस्ता संस्थागत भएका शोषणयुक्त उत्पादन सम्बन्ध भएको भूमि व्यवस्थाको अन्त्य गर्ने विषयमा प्राथमिकता दिन,
– छुवाछुत र सामाजिक विभेद विरुद्ध लडन,

– राजनीतिमा उदार एवम् प्रजातान्त्रिक मूल्य स्थापित गर्न र
– स्वास्थ्य र शिक्षामा लगानी गर्न,
– आर्थिक आधुनिकीकरण गर्न,

र अन्त्यमा, वि.पि. को विचारमा समाजवाद भन्नाले समाजका आवश्यकता पूरा गर्न सकिनेगरी पर्याप्त उत्पादन गर्नु हो । आर्थिक उत्पादन र उत्पादकत्व नै वास्तवमा समाजवाद हो । समाजवादको लक्ष्य प्राप्तिका निम्ति वितरण गर्न आवश्यक परिमाण पुग्नेगरी पर्याप्तवस्तु उत्पादनमा बृद्धि गर्न सक्नु पर्दछ । त्यसो गर्न सकियो भनेमात्र मागअनुसार बस्तुको वितरण गर्न सकिने कुराको सुनिश्चितता हुन सक्छ ।