हेटौंडाः राष्ट्रिय झण्डा चलाएर जातीय विभेदलाई बढावा दिने गरी म्युजिक भिडियो बनाउने समूहका प्रमुख अभियुक्तसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमार्फत मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरिएको पुष्टि गरेको छ ।

प्रहरीले पक्राउ गरेका ९ जनामध्ये ८ जना काठमाडौंमै पक्राउ परेका हुन् भने एकजनालाई मकवानपुर प्रहरीले बागमती गाउँपालिकाबाट पक्राउ गरेको जनाएको छ । मकवानपुर प्रहरीले २५ वर्षीय मीनबहादुर भोम्जनलाई हिजो साँझ बागमती गाउँपालिकाबाट नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार हिजो साँझ ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा भोम्जनलाई पक्राउ गरिएको हो । भोम्जनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ । भोम्जनलाई काठमाडौं पठाउने तयारी भइरहेको पनि प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभएको छ ।

भोम्जनसँगको सोधपुछका क्रममा गत चैतमा म्युजिक भिडियोको छायाङ्कन गरिएको बुझिएको छ । ग्याल्जोम दोर्जे तामाङको नेतृत्वमा काठमाडौंबाट आएको एक समूहले गाउँमा म्युजिक भिडियो बनाउने क्रममा आफूहरुलाई पनि अभिनय गर्न भनेअनुसार अभिनय गरेको भोम्जनसँगको प्रारम्भिक सोधपुछका क्रममा थाहा भएको छ ।