हेटौंडाः कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै हेटौंडा–१ का एक वृद्धको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले तय गरेको शव व्यवस्थापन कार्यविधिअनुसार नेपाली सेनाले वृद्धको शवको व्यवस्थापन गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले शव व्यवस्थापन गर्ने स्थान समेत तय गरिसकेको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले सेनाको सहयोगमा सुरक्षितसाथ शवको व्यवस्थापन गरिने जानकारी गराउनुभएको छ । केही बेरमै नेपाली सेनाले शव व्यवस्थापन गर्ने उपमेयर लामाले बताउनुभएको छ । ६१ वर्षीय वृद्धको गएराती हेटौंडा–१ स्थित घरमै निधन भएको हो ।