हेटौँडा : नेपाल रेडक्रस सोसाइटी मकवानपुरको आयोजना एवम् जुनियर रेडक्रस सर्कल शारदा मावि आमभन्ज्याङ्गको व्यवस्थापनमा आयोजित जिल्लास्तरीय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको फाइनलमा जिएस निकेतन र आयोजक शारदा मावि पुगेका छन् ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जिएस निकेतनले प्रजा जागृति मावि राक्सिराङ्गलाई २५–१७, २५–२२ र २५–९ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै दोश्रो सेमिफाइनल खेलमा शारदा माविले थाहा नगरपालिकास्थित सुन्दरीदेवी माविलाई २५–१८, २५–१७ र २५–१७ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

सेमीफाइनलमा पराजित प्रजा जागृति मावि र सुन्दरीदेवी माविले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु ५० हजारसहित रनिङ्गसिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुने विद्यालयले नगद रु ३० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने २ विद्यालयले नगद रु १५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । फाइनल खेल आज आइतबार आयोजना हुनेछ । प्रतियोगितामा मकवानपुर जिल्लाका २४ वटा विद्यालयको सहभागिता रहेको थियो ।