हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा ३१ दशमलव ५९ किलोमिटर सडक स्लाब ढलान गरेको छ । गत आर्थिक वर्षमा उपमहानगरपालिकाले सडक स्लाब ढलान गर्नका लागि २२ करोड २८ लाख ६५ हजार ९ सय १२ रुपैयाँ रकम विनियोजन गरेको थियो । सडक स्लाब ढलानमा १९ करोड ४३ लाख ३८ हजार ९ सय १६ रुपैयाँ जनसहभागिता गरी कुल ४१ करोड ७२ लाख ४ हजार ८ सय २८ रुपैयाँ लागतमा ३१ दशमलव ५९ किलोमिटर सडक स्लाब ढलान सम्पन्न भएको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी रामकृष्ण थापाले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्षको भौतिक प्रगतिको समिक्षामा उपमहानगरका १९ वटै वडाहरुमा ११ हजार ७ सय ४४ मिटर सडक स्तरीकरण गरिएको जानकारी दिएको छ । सडक स्तरीकरणमा हेटौंडा उपमहानगरपालिकाको १ करोड ७७ लाख ९ हजार ६ सय ३२ रुपैयाँ बजेट र ५४ लाख ५७ हजार ५७ रुपैयाँ बराबरको जनसहभागिता गरी कुल २ करोड ३१ लाख ६६ हजार ६ सय ८९ रुपैयाँ खर्च भएको हो । त्यस्तै हेटौंडा उपमहानगरपालिकाको एक हजार एकसय मिटर सडक कालोपत्रे गरिएको छ । ८५ लाख ६० हजार २ सय ५२ रुपैयाँ लागतमा सडक कालोपत्रे भएको छ । जसमा ६९ लाख ४९ हजार ७ सय ३३ रुपैयाँ उपमहानगरको बजेट र १६ लाख १० हजार ५ सय १९ रुपैयाँ जनसहभागितामा सडक कालोपत्रे गरिएको सूचना अधिकारी थापाले बताउनुभयो ।
उपमहानगरपालिकामा १५ हजार ७ सय ४५ मिटर नयाँ सडक ट्र्याक खोलिएको छ । ३७ लाख ३६ हजार १ सय २७ रुपैयाँ उपमहानगरपालिकाको बजेट र ७ लाख ५८ हजार ५ सय २१ रुपैयाँ जनसहभागिता गरी कुल ४४ लाख ९४ हजार ६ सय ४८ रुपैयाँ लागतमा नयाँ ट्र्याक खोलिएको उपमहानगरपालिकाले जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा २३ हजार ३ सय ६६ मिटर सडकमा ग्राभेल गरिएको छ । सडक ग्राभेल गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा ६० लाख ८ हजार ९ सय ७९ रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा २० लाख ६९ हजार १ सय ४० रुपैयाँ जनसहभागिता गरी कुल ८० लाख ७८ हजार १ सय २० रुपैयाँ लागतमा सडक ग्राभेल गर्ने कार्य भएको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी रामकृष्ण थापाले जानकारी दिनुभयो ।