हेटौँडा : मकवानपुरको बकैया गाँउपालिकामा प्रधानाध्यापकहरुको भेलाबाट गाउँपालिकास्तरीय शैक्षिक समन्वय समिति गठन गरिएको छ । बकैया–३ स्थित बुद्ध माविका प्रधानाध्यापक प्रेम बोम्जनको सभाध्यक्षता तथा बकैया गाँउपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा भेला भएको हो । कार्यक्रममा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीको विशेष आतिथ्य रहेको थियो ।
बकैया गाउँपालिकाका ६० वटा विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको भेलाबाट प्रेम बोम्जनको अध्यक्षतामा १५ सदस्यीय गाँउपालिकास्तरीय शैक्षिक समन्वय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा गोमा श्रेष्ठ रानाभाट, सचिवमा हरिहर खनाल, कोषाध्यक्षमा खेम बिक, सहसचिव मोनिका लामा चयन हुनुभएको छ । यस्तै सदस्यमा हिरालाल जिम्बा, सुकराम स्याङ्गतान, चन्द्रलाल मोक्तान, शिव बोलखे, ज्ञानबहादुर बिक, राजकुमार रुम्बा, मथुरा दुलाल, नानिमैया बजगाईँ, बाबु रुम्बा र भिम बहादुर स्याङ्तान रहनु भएको छ ।
परीक्षा सञ्चालन, शैक्षिक गतिविधिहरु सञ्चालन, अतिरिक्त क्रियाकलाप, नियमित प्रधानाध्यापक बैठकका विषयमा समन्वय समितिले आवश्यक सहजीकरण गर्नेछ भने शैक्षिक गुणस्तर वृद्धिका लागि बकैया गाँउपालिकासँग समन्वय गरी विविध गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यले समन्वय समिति गठन गरिएको नवनिर्वाचित सचिव हरिहर खनालले जानकारी दिनुभयो । शिक्षकको भेलामा वडाध्यक्षहरु विश्वराज लामा, लक्ष्मी जिम्बा, फूल बहादुर बोम्जन, इस्थर बेन्जामिन स्मृति संस्थाका कार्यक्रम संयोजक बुद्धवीर लामा, निवर्तमान श्रोतशिक्षकद्वय नारायण प्रसाद चापागाईं र चन्द्र प्रसाद देवकोटाको आतिथ्य रहेको थियो ।










