हेटौँडा : हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा हैरान्स क्लबले पहिलो जित हात पारेको छ । शनिबार हेटौँडा–६ स्थित गौरिटार रंगशालामा भएको खेलमा हैरान्सले टाइगर्स टिमलाई ५–२ गोलअन्तरले हराएको हो ।
हैरान्स क्लबका कप्तान रोशन दोङले खेलको २५ औँ र ३२ औँ मिनेटमा गोल गरे । हैरान्सकै समीर थोकर, विश्व लामा र अनिश महर्जनले क्रमशः खेलको ४८ औँ, ४९ औँ र ८८ औँ मिनेटमा गोल गरे । टाइगर्स टिमका विशेष लामाले खेलको ६२ औँ र ६६ औँ मिनेटमा २ गोल फर्काए पनि हार टार्न सकेनन् । प्लेयर अफ द म्याच बनेका रोशन दोङले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यसअघि टाइगर्स टिमले बिहिबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा गाईघाट फुटबल क्लबलाई २–१ गोलअन्तरले हराएको थियो ।
शनिबार नै भएको पहिलो खेलमा काँक्रेविहार युथ क्लब र नव जनजागृति युवा क्लबले अंक बाँडेको छ । काँक्रेविहार र जनजागृतिले १–१ गोलको बराबरी खेलेको हो । खेलको ३८ औँ मिनेटमा काँक्रेविहारका कप्तान आशिष चापागाई र ४५ औँ मिनेटमा नव जनजागृतिका रुजन न्यौपानेले गोल गरे । प्लेयर अफ द म्याच बनेका काँक्रेविहार युथ क्लबका सरिन जिसिले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । बिहिबार काँक्रेविहार युथ क्लबले हैरान्स क्लबलाई ३–२ गोलअन्तरले हराएको थियो । १० टिम सहभागी प्रतियोगिता मंसिर २ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ ।










