प्रदेश सभा बैठकमा बोल्नु हुँदै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल ।

हेटौँडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले प्रदेश सभालाई प्रभावकारी बनाउन नसकेको बताउनुभएको छ । सरकारले प्रदेश सभामा प्रत्यक्ष प्रभाव राख्दै आफू अनुकुल संचालन गर्दै आएको उहाँले आरोप लगाउनुभयो ।

प्रदेशसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै नेता जम्कट्टेलले सरकारले प्रदेश सभालाई विजनेश दिन नसकेको बताउनुभयो । पहिलो कार्यकालमा बनेका कानुनहरु पुनरावलोकन गर्नुपर्ने अवस्था रहेपनि सरकारले त्यसतर्फ काम गर्न नसकेको उहाँले बताउनुभयो । ‘सरकारले जनताको पक्षमा काम गर्नुपर्छ । तर, सरकारमा दम्भ छ, घमण्ड छ । मन्त्रीहरुमा दम्भ छ । मन्त्रीहरु बीचमा एकता छैन । मुख्यमन्त्रीको निर्देशनमा मन्त्री छैनन् । दम्भ र घमण्ड देखाउन उचित छैन । त्यसको प्रभाव तपाईहरुले नै बुझ्नुपर्छ’, जम्कट्टेलले भन्नुभयो ।

विगतका सरकारले बनाएका नीति, कार्यक्रम कार्यान्वयनमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकार विगतका नीति कार्यक्रम र योजनाहरुमा कार्यान्वयनमा निरन्तरता दिन नसकेको उहाँको भनाई छ । सरकार प्रतिफलमुखी विकास आयोजना संचालनमा जिम्मेवार बन्न नसकेको उहाँले जीकिर गर्नुभयो । नेता जम्कट्टेलका अनुसार सरकार साना र टुक्रे आयोजना बनाएर बजेट खर्च बढाउनेतर्फ केन्द्रीत रहेको छ । प्रतिपक्षीले विकास आयोजनासँगै सुशासन, पारदर्शिता, समावेशी विकास प्रणालीका पक्षमा वकालत गरिरहेको भएपनि सरकारले प्रतिपक्षीलाई समेत नदेखेको उहाँले आरोप लगाउनुभयो ।