प्रदेश सभा बैठकमा बोल्नुहुँदै नेता जगन्नाथ थपलिया ।

हेटौँडा : नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारले निर्माण गरेको पूर्वाधारको पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । विपद्का कारण प्रदेश सरकारले बनाएका आयोजनाहरु जीर्ण बन्दै गएको उहाँले बताउनुभयो ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा नेता थपलियाले प्रदेश सरकारले नयाँ मोडलबाट विकास आयोजनाहरु अघि बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो । सरकारले वृहत र प्रभावकारी आयोजनामा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो । छोटा सुरुङमार्ग निर्माण गरेर सरकारले अर्थतन्त्रलाई दिगो प्रभावमूलक बनाउन जरुरी रहेको उहाँको भनाई छ ।

‘प्रदेश सरकारले आम नागरिकको अधिकार र सेवा प्रवाहलाई जिम्मेवारीपूर्वक अघि बढाउन जरुरी रहेको छ । प्रदेश सरकारले विगतको अवस्थालाई मूल्यांकन गरेर एकतावद्ध रुपमा नयाँ मोडलको विकासमा अघि बढ्न जरुरी रहेको छ । विगतको बजेट कार्यक्रममा नागरिकको असन्तुष्टि उच्च छ । त्यसलाई सम्बोधन गर्दै सन्तुलित र समावेशी विकासका कार्यक्रममा अघि बढाउन जरुरी रहेको छ’, नेता थपलियाले भन्नुभयो ।

उहाँका अनुसार प्रदेशका नागरिकको आवश्यकता अनुसारका योजना बनाउन सरकार गम्भीर बन्नु पर्छ । विगतका असन्तुष्टि प्रकट नहुने गरी सबैको भावना समेटेर योजना तयार गर्नुपर्ने उहाँले बताउनुभयो । सीप विकास, प्रविधि हस्तान्तरण, बजार प्रवद्र्धन लगायतका विषयहरु समेटिनु जरुरी रहेको उहाँले बताउनुभयो । वेरोजगारी न्यूनीकरण गर्दै आयस्तर सुधार गरेर अघि बढाउनुपर्ने उहाँको धारणा थियो ।