प्रदेश सभा बैठकमा सहभागी प्रदेश सभा सदस्यहरु ।

हेटौँडा : बागमती प्रदेशसभाको सबै विषयहरु कार्यसूचिबाट हटाएको छ । प्रदेशसभामा पेश गर्नका लागि तयार गरेका विषयहरु कार्यसूचिबाट हटाएर सोमबारको बैठक स्थगित गरिएको छ ।

प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले बैठकमा रुलिङ गर्नुहुँदे कार्यसूचिमा समावेश गरिएका विषयहरु हटाइएको जानकारी दिनुभयो । उहाँले प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको छ । बैठकमा प्रदेश चलचित्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने कार्यसूचि रहेको थियो भने संसदीय समितिबाट पारित भई तयार भएका ४ विधेयकका प्रतिवेदन पेश हुने कार्यसूचि रहेको थियो ।

सत्तापक्ष र प्रतिपक्षी दल बीचको सहमतिका विषयहरु टुंगिन नसक्दा बैठक स्थगित गरिएको हो । प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन संचालनका लागि मुख्यमन्त्री बहादुर सिंह लामाले पटक–पटक छलफल गर्नु भएपनि सहमति जुट्न सकेको छैन । मुख्यमन्त्री लामाले पटक–पटक सर्वदलीय बैठक आह्वान गरी बैठक संचालनको वातावरण तयार पार्ने प्रयास गर्नुभएको थियो । तर, उहाँको प्रयास सफल हुन सकेको छैन ।

सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षी दल बीच विगतका सहमति कार्यान्वयन र संसदको हिउँदे अधिवेशनका विषयमा कुरा मिल्न सकेको छैन । चालु आर्थिक वर्षको बजेट कार्यक्रममा प्रतिपक्ष दलसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएको र संसद आव्हान गरेर बैठक संचालन नगरी अधिवेशन अन्त्य गरेको भन्दै प्रतिपक्षी दल असन्तुष्ट बन्दै आएको छ ।

सो विषयमा प्रतिपक्षी दलहरुले सरकारको स्पष्ट धारणा माग गरेका छन् । सरकारको जवाफ सन्तोषजनक नभएसम्म कैठक चल्न नदिने प्रतिपक्षी दलको अडान छ । बागमती प्रदेशमा एमालेसँगको साझेदारीमा कांग्रेसका बहादुर सिंह लामा मुख्यमन्त्री रहेका छन् भने प्रतिपक्षी दलमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी रहेका छन् । प्रतिपक्षी दलको मागको सन्दर्भमा नेमकिपा र हाम्रो नेपाली पार्टी सहभागी छैनन् ।