शिक्षकलाई सम्मान गरिँदै ।

हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरिएको छ । सोमबार सम्पन्न वार्षिकोत्सवमा उत्कृष्ट शिक्षकतर्फ सागरप्रसाद खतिवडा, गणेशप्रसाद हुमागाई, रोशन शाह घर्ती, सुनिल शिवकोटी, सुरुची रेग्मीलाई सम्मान गरिएको हो । यस्तै कर्मचारीतर्फ सपनामाया गोलेलाई सम्मानत गरिएको छ । उत्कृष्ट शिक्षक र कर्मचारीलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

वार्षिकोत्सवको अवसरमा सौरभ÷गौरव अक्षयकोष छात्रवृत्ति कक्षा–११ मा अध्ययनरत् निरोज घिसिङ र रिता कुमारी पट्टेललाई छात्रवृत्तिस्वरुप जनही ५ हजार रुपैयाँ प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख लामाले सामुदायिक विद्यालयको मिहिनेत र परिश्रमले नतिजा देख्न लागेको बताउनुभयो । सामुदायिक विद्यालयप्रति विश्वास दिलाउन चुनौतिसँगै अवसर पनि रहेको उहाँको भनाई छ ।

सामुदायिक विद्यालयप्रति विश्वास बढाउन शिक्षक र विद्यार्थीको विशेष भूमिका रहेको बताउनुहुँदै विद्यालयको शैक्षिक गुणस्तर उकास्न उपमहानगरले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सोही अवसरमा विद्यालयका निवर्तमान प्रधानाध्यापक मोहनप्रसाद शर्मासहित सबैभन्दा बढी उपस्थित हुने र उत्कृष्ट नतिजा हासिल गराउन सहयोग गर्ने शिक्षकलाई पनि सम्मान गरिएको छ । कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पनि स्टेशनरी सामग्रीसहित पुरस्कृत गरिएको छ । वार्षिकोत्सव समारोहमा हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकृष्ण थापा, वडाध्यक्ष विष्णुगोपाल महर्जन, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरेको पनि आतिथ्य रहेको थियो ।