सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको २ जिल्लामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको नुवाकोट र चितवन जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
नुवाकोट जिल्लाको बिदुर नगरपालिका–१०, भैंसेभिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीय ईश्वर नगरकोटी रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार साँझ ५ बजेर ४५ मिनेटको समयमा नगरकोटी आफ्नै खरबारीमा दाउरा काट्न जाने क्रममा भिरबाट ५० मिटर तल खोल्सामा खस्दा घाइते भएका थिए । घाइते नगरकोटीलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको थियो । उपचारको क्रममा बेलुका ७ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–५, तीन नम्बर पुलअगाडि त्रिशुली नदी किनारमा एक जना पुरुष मृत फेला परेका छन् । शनिबार दिउँसो ३ बजेर १० मिनेटको समयमा त्रिशुली नदी किनारमा नामथर नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।

चितवन जिल्लाकै भरतपुर महानगरपालिका–२, आँपटारीमा बिरामी अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा दुबै खुट्टा नभएको भारतीयजस्तो देखिने अन्दाजी ५५ वर्षीय पुरुष बिरामी अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बिरामी पुरुषलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो । आइतबार बिहान ८ बजेर ३० मिनेटको समयमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।