हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा छोटो अवधिका सीपमूलक तालिम कार्यान्वयनका लागि अभिमुखीकरण तथा सम्झौता कार्यक्रम भएको छ । आइतबार मन्त्रालयको सभाहलमा तालिम कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो ।
कार्यक्रममा राक्सिराङ गाउँपालिका, तादी गाउँपालिका, किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका, तामाकोशी गाउँपालिका, मनहरी गाउँपालिका, जुगल गाउँपालिका र बकैया गाउँपालिकासँग सीममूलक तालिम कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिएको छ । सम्झौतापछि तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले प्रदेशको १३ जिल्लाबाट रोजगारपूर्ण तालिम सिर्जना कार्यक्रम गरिएको बताउनुभएको छ । स्थानीय तहमा युवाको अभाव भएको कुरालाई उहाँले जीकिर गर्नुभयो । संघ, प्रदेश र स्थानीय तहले अधिकार दिए पनि अधिकारको बाँडफाँड गर्ने काम नभएको उहाँले बताउनुभयो ।
शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा तालिम प्रवाह गर्ने मौका भएकाले कार्यक्रम सञ्चालन गर्दा प्रयोगमा आउनेगरी सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । कानुनी कार्यविधि बनाएर काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । देशमा रहेको ७ सय ५३ स्थानीय सरकार युवाविहीन भएको उहाँले बताउनुभयो । युवालाई टिकाउनका लागि रचनात्मक क्रियाकलाप गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । तालिम प्रदान गरेपछि प्रशिक्षार्थीलाई प्रशिक्षक बन्नसक्ने खालको दक्षता प्रदान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
समाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रेले प्राविधिक शिक्षा र तालिमको पहुँच वृद्धि गर्ने उद्देश्य लिएको बताउनुभयो । स्थानीय तहसँग साझेदारी गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले सो कार्य गरेमा कार्यक्रममा दोहोरोपन नहुने बताउनुभयो । तालिम धेरै भए पनि प्रभावकारी नभएको उहाँले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले सीपमूलक तालिम सञ्चालन गर्नका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने बताउनुभयो । युवा शक्तिलाई विदेश पलायनबाट रोक्न कसरी लाग्ने भन्ने कुरा बुझ्न जरुरी रहेको उहाँले बताउनुभयो । स्थानीय समुदायमा गुणस्तरीय शिक्षालाई अगाडि बढाउन सबै लाग्न आवश्यक रहेको उहाँको भनाइ छ । प्रविधियुक्त शिक्षा प्रदान गरेर शिक्षासँग उद्योग, कृषिलगायतलाई जोड्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको सभाध्यक्षमा कार्यक्रम भएको हो ।