स्कीम श्रेष्ठ ।

हेटौँडा : १० दिनपछि मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा स्कीम श्रेष्ठ आउनुहुने भएको छ । गृह मन्त्रालयले शुक्रबार श्रेष्ठलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने गरी सरुवा गरेको हो । श्रेष्ठ यसअघि नवलपरासी जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा हुनुहुन्थ्यो । यसअघिका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल माघ २९ गतेको निर्णयानुसार सरुवा भएर संघीय अर्थमन्त्रालय जानुभएको थियो ।

श्रेष्ठ मकवानपुर जिल्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । हेटौँडा–१६, हटियाकी श्रेष्ठ यसअघि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पनि सचिवको रुपमा जिम्मेवारी सम्हालिसक्नुभएको थियो । हेटौँडा–१६, हटियास्थित जनप्रिय माविबाट एसएलसी उत्तीर्ण श्रेष्ठ कक्षा ११ र १२ तथा स्नातक तह हेटौँडा स्कूल अफ म्यानेजमेन्टबाट पूरा गर्नुभएको हो । स्नात्तकोत्तर तहको अध्ययन श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरबाट पूरा गर्नुभएको हो ।

एक सातापछि मकवानपुरमा सहायक प्रजिअमा फागुन ६ गते राजेन्द्रप्रसाद कँडेल हाजिर हुनुभएको छ । यसअघि मकवानपुरको सहायक प्रजिअ धोलकराज ढकाल हुनुहुन्थ्यो । उहाँको सहसचिव पदमा बढुवा भएसँगै संघीय मन्त्रालयमा हाजिर हुनुभएको छ ।