हेटौँडा : बागमती प्रदेशको राजधानी हेटौंडामा पनि आर्चरी सेन्टर सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा पहिलो पटक आर्चरी सेन्टर सञ्चालनमा ल्याइएको हो ।

गत माघ २६ गतेबाट हेटौंडा आर्चरी सेन्टरको नाममा सेवा सुरुवात भएको सेन्टरका सञ्चालक राजेश ढुंगानाले जानकारी दिनुभएको छ । आर्चरी खेलका बारेमा पवन अधिकारी र महेशकुमार थापा क्षेत्रीले प्रशिक्षण दिनुहुने सञ्चालक ढुंगानाले बताउनुभयो । प्रशिक्षक थापा, नारायण् प्रसाद भट्टराई र अधिकारीसँगको पार्टनरसीपमा आफूहरुले हेटौंडामा पहिलो आर्चरी सेन्टर सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

आर्चरी सेन्टर सञ्चालनका लागि करिब २५ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । सेन्टरमा दैनिक १५ देखि २० जना मानिस आर्चरीको अभ्यास गर्न आउने गरेको उहाँले बताउनुभयो । सेन्टरमा आउने ग्राहकको सुविधाका लागि काठमाडौंमा भन्दा ५० प्रतिशत छुट दिइएको उहाँले बताउनुभयो । आर्चरी खेल १० वर्षदेखि अधिक उमेर समूहका महिला तथा पुरुष खेलाडीहरुले खेल्नसक्ने उहाँले बताउनुभयो । काठमाडौंमा मात्रै आर्चरी सेन्टर सञ्चालन भएकाले यसको प्रवद्र्धन गर्न हेटौँडामा पनि सञ्चालन गरेको उहाँले बताउनुभयो ।

बिहान ७ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने आर्चरी सेन्टरमा आउने सेवाग्राहीलाई आधा घण्टाको ३ सय रुपैयाँ र एक घण्टाको ५ सय रुपैयाँ शुल्क लिएर अभ्यास गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । फुटसल, फुटबल, स्केटिङ खेलमा जस्तै आर्चरी खेलप्रति आकर्षण बढाउन सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक ढुंगानाले बताउनुभयो । खेलको विकास हुँदै गएर भविष्यमा खेलाडी तयार भए राष्ट्रिय स्तरका प्रतियोगितामा पनि सहभागी गराउने लक्ष्य लिएको उहाँले स्पष्ट पार्नुभयो । मकवानपुरमा आर्चरी खेलको आधिकारिक संघसंस्था दर्ता नभएको भन्दै उहाँले हेटौंडामा आर्चरी खेलको प्रवद्र्धन गर्ने योजना रहेको बताउनुभयो ।

मासिक तथा वार्षिकरुपमा विभिन्न दरहरु राखेर आर्चरी खेल अभ्यासमा आवद्ध गराउन प्रोत्साहन गरिने उहाँले बताउनुभयो । अभ्यास गर्न आउने ग्राहकहरुले चिया, कफी र चिसो पेयपदार्थको सुविधा पाउने उहाँले बताउनुभयो । भविष्यमा आर्चरी खेलप्रति मानिसहरुको आकर्षण बढेमा नगरस्तरीय तथा जिल्लास्तरीय प्रतियोगितासमेत आयोजना गर्ने योजना रहेको उहाँको भनाइ छ । विद्यालयस्तरका बालबालिकालाई यस खेलमा सहभागी गराउँदै मनोरञ्जनात्मक रुपमा रुचि तथा इच्छा बढाइने उहाँले बताउनुभयो । सेफ्टी मेटेरियलको सुविधासहित चेष्ट गार्ड, हेण्ड गार्ड, फिङ्गर ट्याग, आम गार्डको व्यवस्था गरिएको उहाँको भनाइ छ ।