हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडा बालमैत्री वडा घोषणा भएका छन् । माघ २५ गते शुक्रबार १४ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरेसँगै हेटौँडा उपमहानगरका १९ वटै वडा बालमैत्री घोषणा भएको हो । उपमहानगरका सबै वडा बालमैत्री घोषणा गरिएपछि पालिकालाई नै बालमैत्री घोषणाको तयारी भइरहेको छ । बालमैत्री वडा घोषणा गरिए पनि बालबालिका श्रममै रहेका, बालबालिकामैत्री संरचना, व्यवहार नभएको भनी आलोचना समेत भइरहेको छ । यसैसन्दर्भमा बालमैत्री पालिका घोषणाका लागि हेटौँडा उपमहानगरपालिकाको सम्बन्धित महाशाखाको रुपमा महिला, बालबालिका तथा समावेशीकरण महाशाखाकी निर्देशक विष्णुकुमारी लामिछानेसँग समृद्ध समाज राष्ट्रिय दैनिकका लागि सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानी :
समाज : हेटौंडा उपमहानगरपालिकाका सबै वडाहरु बालमैत्री घोषणा भइसकेका छन् । अब उपमहानगरपालिलाई नै बालमैत्री घोषणा गर्न लागिएको अवस्थामा के के काम गरेर उपमहानगरपालिका बालमैत्री घोषणा हुन तयार भयो ?
लामिछाने : हेटौँडा उपमहानगरपालिकाले बालमैत्री शासन अबलम्बन गर्नका लागि पहिला प्रतिबद्धता व्यक्त गरिएको थियो । नगरभित्रका सम्पूर्ण सरोकारवालाको उपस्थितिमा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउने भनेर सबैको प्रतिबद्धतासहित हामीले हस्ताक्षर नै ग¥यौं । त्यसपछि कार्यपालिका, नगरसभाबाट बालमैत्री शासनसँग सम्बन्धित विभिन्न कानुन बन्यो । नीति, कानुन कार्यान्वयनको चरणमा हामीले विभिन्न संरचनात्मक व्यवस्था पनि गरेका छौं । नगर र वडास्तरमा विभिन्न समितिहरु गठन भएका छन् । बालमैत्री सम्पर्क व्यक्तिहरु, सहजकर्ताहरु रहेका छन् । पछिल्लो चरणमा यसको दिगोपनाका लागि अगाडि बढ्न बालमैत्री सम्पर्क कर्मचारी पनि हामीले तोकेका छौं । यी विभिन्न कुराहरुलगायत बालकल्याण अधिकारी नियुक्त, बालमैत्री सम्पर्क कक्ष पनि स्थापना गरिएको छ । बाल समूह र नगरस्तरीय सञ्जालका बालबालिकालाई नियमित रुपमा बैठक बस्नका लागि सहज हुनेगरी पुष्पलाल पार्कमा बालमैत्री सम्पर्क कक्ष स्थापना गरेका छौं ।
समाज : अब हेटौंडा उपमहानगरपालिका बालमैत्री घोषणा हुँदा के कुराको सकारात्मक परिवर्तन हुन्छ ?
लामिछाने : यसले धेरै ठूलो कुराको प्रभाव पार्छ । बालमैत्री नहुँदा हामीले जति पनि घटनाहरु देख्छौं र हेर्छौं, होटलमा खाना खान जाँदा होस् अथवा ग्यारेजमा मोटरसाइकल मर्मत गर्न जाँदा हामीले त्यहाँ बच्चाहरु काम गरिरहेका रहेछन् मात्रै भन्ने गरेका थियौँ । तर, अब हामीले त्यो हेरेर चुप लागेर कोही पनि बस्दैनन् । त्यसैगरी बालविवाह हुँदैन । गाउँघरमा बालबालिकाको मागी विवाह त धेरै कम भइसकेको छ । भागेर विवाह गर्नेको कुरा पनि कसैले थाहा पाउनुभयो भने तुरुन्त जानकारीमा आउँछ र त्यो विवाहलाई बदर गरेर २० वर्षपछि हुनेगरी हामी अगाडि बढ्छौँ ।
समाज : हेटौँडा अस्पतालको तथ्याङ्कलाई हेर्छौं भने किशोरी आमाहरुको संख्या उत्तिकै देखिन्छ ।
लामिछाने : हेटौंडा उपमहानगरपालिकामा रहेको हेटौँडा अस्पतालमा सुत्केरी हुने आमाहरु कहाँका हुनुहुन्छ ? स्थायी ठेगाना हेर्नुपर्ने हुन्छ । अस्पतालमा सेवा लिने त बाहिरी जिल्लाका पनि हुनुहुन्छ । बाहिरी मुलुकमा बसोबास गरेर सुत्केरी हुनका लागि पनि यहाँ आउनु भएको हुन सक्छ । अझै पनि दूरदराजमा रहेका किशोरीहरु भागी विवाह गर्ने र किशोरावस्थामै गर्भवती बन्ने खालको प्रचलनले गर्दा पनि तथ्याङ्क देखिएको हो । हामीले धेरै जस्तो हेर्दा तराइका बासिन्दाहरु पनि यहाँ आउने र अन्य पालिकाहरुका किशोरी आमाहरु पनि आएर सेवा लिने भएको हुनाले सबै तथ्याङ्क हेटौँडा उपमहानगरपालिकाकै हो भनेर भन्न सक्ने अवस्था छैन ।
समाज : अब बालमैत्री भनेपछि हरेक संरचनाहरु, हाम्रो पूर्वाधारहरु, वस्तुस्थिति, बालबालिका जोखिममा नरहने हुनुप¥यो भन्ने कुरा छ । तर, हेटौँडा उपमहानगरपालिकाको मुख्य कार्यालय अगाडिकै सडक छेउका नै ढल नै खुला छ, छोपिएको छैन । त्यो त बालबालिकाको हिसाबले बालमैत्री नभएर जोखिमयुक्त छैन र ? कसरी हामी बालमैत्री भयौं ?
लामिछाने : सबै पूर्वाधारको हिसाबले हेर्ने हो भने बालबालिकाको जोखिमलाई हेरेर हामीले बालबालिका मैत्री बनाउनुपर्छ । विस्तारै बनाउँदै जाने प्रक्रियामा पनि छौं हामी ।
समाज : हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने अन्तिम चरणमा छौं । यसलाई कायमै राख्ने कुरामा कर्मचारी प्रशासन, जनप्रतिनिधि, नागरिक समाज, हेटौँडा उपमहानगरका सरोकारवाला सबै व्यक्तिमा कस्तो सन्देश प्रवाह भएको छ ?
लामिछाने : अहिले हामीले जति पनि संरचना तयार गरेका छौं, त्यो संरचनालाई निरन्तरता र दिगोपनाका लागि बालबालिकाको पञ्चवर्षीय लगानी योजना प्रत्येक वडामा बनेर सुनिश्चित भइसकेको छ । त्यसैगरी पञ्चवर्षीय योजना, रणनीतिक योजना बनेर तयार भइसकेको छ । यसका लागि हामीले सम्पर्क कर्मचारी पनि तोकेका छौं । हामीले बाल समूहका बैठकहरु नियमित गर्ने, गराउने, सञ्जालका गतिविधिहरुलाई नियमित राख्नका लागि विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्ने गरेका छौं । आफ्नो आफ्नो कार्यक्षेत्रमा रहने बालबालिकाहरुलाई चाहिँ सक्रिय गर्ने र पुनःगठन गर्ने सूचीकृत गर्ने गराउने नियमित गराउनका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नका लागि पनि संघसंस्थाहरु छन् ।