हेटौँडा : हेटौंडा–१४ नम्बर वडालाई शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
हेटौँडा–१४ नम्बरका वडा अध्यक्ष दीपक खड्काको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । वडाको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै वडा अध्यक्ष खड्काले ५१ वटा सूचक पूरा भएसँगै बालमैत्री वडा घोषणा गरिएको जानकारी दिनुभयो । ५१ वटा सूचकमध्ये ४७ वटा सूचकमा शतप्रतिशत र बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको उहाँले बताउनुभयो ।
घरधुरी तथ्यांक संकलन सर्वेक्षण–२०७९ अनुसार वडामा १८ वर्ष मुनिका २ हजार ४ सय ९४ बालबालिका छन् । जसमा एक हजार २ सय ६७ बालक र एक हजार २ सय २७ बालिका रहेका छन् । कुल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ४८ दशमलब ४४ प्रतिशत बालिका र ५१ दशमलब ५५ प्रतिशत बालक रहेका छन् ।
सामुदायिक र संस्थागत गरी बाल विकास केन्द्रसहित ६ वटा विद्यालय सञ्चालनमा रहेको अध्यक्ष खड्काले बताउनुभयो । २२ वटा बाल समूह र एउटा बाल सञ्जाल रहेका छन् । जसमा ५ सय ५० जना बालबालिका आवद्ध छन् भने विभिन्न संरचनागत समितिमा समेत गरी ५ सय ७० बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । घोषणा कार्यक्रममा पत्रकार बालकृष्ण अधिकारी र निशा गुरुङलाई सम्मानपत्रले सम्मानित गरिएको छ ।