हेटौँडा : मकवानपुरको थाहा नगरपालिकामा जारी अन्तर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । थाहा नगरपालिकाको आयोजना तथा वडा नम्बर–४ स्थित ऋषेश्वर फुटबल क्लबको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल खेलमा उपाधिका लागि वडा नम्बर–१ र वडा नम्बर–७ बिच प्रतिस्पर्धा हुनेछ । दुबै टिम जीतको लक्ष्यसहित मैदानमा उत्रने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा ३ नम्बर वडालाई टाइब्रेकरमा ६–५ गोलले हराउँदै ७ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो भने दोस्रो खेलमा ४ नम्बर वडालाई टाइब्रेकरमा ६–५ गोलले हराउँदै १ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो । पहिलो खेलको निर्धारित समय १/१ गोलको बराबरीमा रोकिएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । ७ नम्बर वडाले १ गोल उपहारस्वरुप आत्माघाति गोल प्राप्त गर्यो । ३ नम्बर वडाका एलोन विष्टले एक गोल गरेका थिए ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडी र प्रत्येक खेलको म्यान अफ म्याचका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।