हेटौँडा ः बागमती प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा विधेयक पेश नहुने भएको छ । ४ महिनापछि आज शुक्रबार बस्न लागेको प्रदेशसभाको १५ औं अधिवेशनको पहिलो बैठकमा शुभकामना सन्देश मात्र दिने कार्यसूचि निर्धारण गरिएको हो ।
बिहीबार साँझ बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार विहान ११ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूचिमा दलीय रुपमा शुभकामना सन्देश दिने कार्यसूचि तय गरिएको हो । प्रदेशसभा सचिवालयका अनुसार सदनमा दलगत रुपमा नेताहरुले शुभकामना सन्देश र प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरुको बारेमा जानकारी गराउने कार्यसूचि निर्धारण भएको सभामुख भुवनकुमार पाठकले बताउनुभयो ।
उहाँका अनुसार शुक्रबार नै प्रदेश सभाको स्थापना दिवस रहेकाले मन्तव्यको कार्यसूचिपछि बैठक स्थगित गरिने छ । सो पश्चात हाउसका गतिविधि र कार्यसूचिका विषयमा सत्तापक्ष र प्रतिपक्षको छलफलपछि निर्णय हुने उहाँले बताउनुभयो । सत्तापक्षीय दल नेपाली कांग्रेस बागमती प्रदेशका मुख्य सचेतक गोविन्द लम्सालले शुक्रबार प्रदेश सभा खुलाएर मन्तव्यको कार्यसूचि तय गरिएको बताउनुभयो । सो पश्चात सत्तापक्षले छलफल प्रारम्भ गरी प्रतिपक्षको मागका सन्दर्भमा सम्बोधन गरेर अघि बढ्ने उहाँले बताउनुभयो । आजको बैठकपछि दलहरु बीच छलफल गरेर माघ २३ गतेबाट नियमित रुपमा प्रदेश सभाको बैठक संचालनको वातावरण तयार गरिने उहाँको भनाई छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले शुक्रबारको बैठकमा शुभकामना मन्तव्य बाहेक कार्यसूचि अघि बढ्न नसक्ने जनाएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा हाउसमा विधेयक पेश गर्ने र छलफल गर्ने प्रस्ताव आएपनि उक्त विषय अघि बढाउन नसकिने तर्क माओवादी केन्द्र सहितका विपक्षी दलहरुले गरेका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभाको स्थापना दिवस भएकाले शुभकामना मन्तव्य बाहेकका कार्ययोजना अघि नबढ्ने बताउनुभयो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा विधेयक पेश तथा अन्य प्रस्तावहरु पनि आएको उहाँले जानकारी दिनुभयो । तर, सरकारले प्रतिपक्षी दलसँगको सहमति कार्यान्वयनको वातावरण नबनाएकाले प्रदेश सभामा विधेयक पेश गर्ने तथा अन्य गतिविधि अघि नबढ्ने उहाँको भनाई छ । दलगत रुपमा नेताहरुले मन्तव्य राखेपछि प्रदेश सभाको थप कारवाही रोकिने उहाँले बताउनुभयो । प्रतिपक्षी दलहरुसँगको सहमति र कार्यदलको प्रतिवेदनको कार्यान्वयनको वातावरण नबनेसम्म प्रदेश सभाको गतिविधि अघि बढ्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।