हेटौंडाः हेटौंडा–१२, पदमपोखरीमा जारी वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर–१२ विजयी भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएका दोस्रो दिनको पहिलो खेलमा वडा–१३ लाई वडा–१२ ले ३–१ को सेटले पराजित गरेको हो ।
वडाध्यक्ष उपमहानगरपालिकास्तरीय भलिबल प्रतियोगिता पदमपोखरीको बुद्ध माध्यमिक विद्यालयको भलिबल कोर्टमा सञ्चालन भइरहेको छ । बिहीबारको पहिलो खेलको पहिलो सेटमा हेटौंडा–१२ हेटौंडा–१३ सँग २०–२५ को सेटले पराजित हुनुपरेको थियो । तर, दोस्रोदेखि चौथो सेटमा हेटौंडा–१३ लाई २५–१०, २५–१९ र २५–१२ को सेटले हेटौंडा–१२ ले सहजैसँग पराजित गरेको हो । खेलको म्यान अफ द म्याच हेटौंडा–१२ का उत्सव आले मगर घोषित भएका छन् ।
यस्तै, दोस्रो खेलमा वडा नम्बर–६ विजयी भएको छ । हेटौंडा उपमहागरपालिका वडा नम्बर–१५ को टिमलाई ३–० को सोझो सेटले हराउँदै हेटौंडा–६ विजयी भएको हो । हेटौंडा–६ ले हेटौंडा–१२ लाई २५–२३, २५–२२ र २५–२३ को सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच हेटौंडा ६ बाट विवेक माझी घोषित भएका छन् ।
बिहीबार भएको तेस्रो तथा अन्मित खेलमा हेटौंडा–१७ विजयी भएको छ । हेटौंडा–१९ लाई ३–० को सोझो सेटले हराउँदै हेटौंडा–१७ विजयी भएको हो । हेटौंडा–१७ ले हेटौंडा–१९ लाई २५–२२, २५–१७ र २५–१८ को सेटले हराएको छ । खेलको म्यान अफ द म्याच हेटौंडा–१७ का विशेष थापा मगर घोषित भएका छन् ।
प्रतियोगिता अन्तर्गत आज शुक्रबार समूह चरणको ४ खेलहरु सञ्चालन हुने खेल संयोजक मनोज लामा स्याङ्तानले जानकारी दिनुभयो । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक स्याङ्तानले जानकारी दिनुभएको छ । प्रतियोगिता आयोजनाका लागि वडा कार्यालयले एक लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार र उपविजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम पुरस्कार राशि हेटौंडा–१० स्थित नारायणी कलेजले प्रायोजन गर्ने भएको छ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि ट्रफी र नगद पुरस्कारको व्यवस्था गरिएको छ ।