हेटौंडाः मोबाइल एसोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत् अध्यक्ष पदमा हरिप्रसाद न्यौपाने (सागर) र रोहिणीप्रसाद गौतम (गोपाल)ले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभएको हो ।
कर तथा लेखासम्बन्धी तालिम सञ्चालन गरी व्यवसायीलाई सहजीकरण गर्ने, सेकेण्डह्याण्ड मोबाइल अनलक गर्नका लागि सम्झौतापत्रलाई अफ गरिने, अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्न पहल गर्ने अध्यक्षका आकांक्षीहरुको योजना छ । उत्तरी र पश्चिमी शाखाहरुलाई गतिशील बनाउने, पूर्वी क्षेत्रमा शाखा विस्तार गर्न सक्दो पहल गर्ने, हितकोषको सुरुवात गर्ने र व्यवसायीको बिमाको दायरा वृद्धि गर्ने कार्यक्रमसमेत घोषणा गरिएको छ । यस्तै, दक्ष जनशक्ति तथा रोजगार सिर्जना गर्न तालिम सञ्चालन गर्ने, डिलर र रिटेलरबिचको सम्बन्ध सुधार गर्दै लानेजस्ता विषय उम्मेदवारको एजेण्डा रहेको छ ।
शनिबार हुने निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै मतदान हुने बताइएको छ । अध्यक्षका प्रत्यासी न्यौपाने हाल वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने गौतम उपाध्यक्ष हुनुहुन्छ । त्यस्तै, उपाध्यक्ष पदमा अनिल दास बानियाँ र शिवप्रसाद बास्तोलाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको बताइएको छ ।
उम्मेदवारी दर्तासँगै १३ औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनमा अध्यक्ष र उपाध्यक्ष पदका लागि मतदान हुने भएको हो । वरिष्ठ उपाध्यक्षमा राजकुमार दहाल, महासचिवमा मिलन स्याङ्तान, कोषाध्यक्षमा प्रवेश चापागाई, सहकोषाध्यक्षमा पुष्पराज गौतम, सचिवमा सुमन रायमाझी सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, सदस्यमा एदिस रिजाल, जीवनाथ अधिकारी, पप्पु कुमार केसरी, सन्तोष दाहाल, अदाम हुसेन मंसुरी र निरोज रिमाल सर्वसम्मत चयन हुनुभएको छ । एक सय ३४ जनाले अध्यक्ष र उपाध्यक्ष पदका लागि मतदान गर्नेछन् ।