हेटौँडाः बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा एकैदिन एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ । बिहीबार पुरुषको घरको दुई तला माथिबाट लडेर मृत्यु भएको थियो भने महिलाको सालको रुखबाट खसेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
काभ्रेपालञ्चोकको बनेपा नगरपालिका–२, घिमिरेगाँउमा घरको दुई तला माथिबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मुत्यु हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–३, ठोकर्पा घर भई हाल घिमिरेगाँउमा काम गर्ने ४० वर्षीय लाल बहादुर मगर रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा घरमा प्लास्टर गर्ने क्रममा दुई तला माथिबाट लडेर मगर गम्भिर घाइते भएका थिए । घाइते मगरलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषण गरेको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपालञ्चोकको पाँचखाल नगरपालिका–३, कान्लेडाँडामा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मण्डेनदेउपुर नगरपालिका–११, तिमल्सिना फुर्सेमाटोका ४८ वर्षीया सन्चमाया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा सालको रुखमा चढी पात टिप्ने क्रममा रुखबाट खसेर घटनास्थलमा नै मृत्यु भएको थियो । मुचुल्का पश्चात पश्चात शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।