हेटौंडाः मकवानपुरमा विविध कार्यक्रम गरेर २८६१ डुल सा पुख्री ल्हो (सर्प वर्ग) सोनाम ल्होछार पर्व मनाएको छ । तामाङ सांस्कृतिक महोत्सव र वृहत् सांस्कृतिक कार्यक्रम गर्दै ल्होछार पर्व मनाइएको हो ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले ‘ह्याङ्लान काअीरन ह्याङ्लान काअी– जम्बुलिङरी छार्ना लाअी’ भन्ने उद्देश्यले २८६१ डुल सा पुख्री ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा हेटौंडा–१०, टिसीएन चौरमा महोत्सव आयोजना गरिएको छ । निर्माणाधीन तामाङ संग्रहालय भवन निर्माण सहयोगार्थ महोत्सवमा लामा, बोम्बो, ताम्बा डम्फुरेसहितको ¥याली तथा झाँकी प्रदर्शन, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरिएको छ ।
पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ मकवानपुर अध्यक्ष नवराज वाईबा, सञ्चारिका समूह नेपाल मकवानपुर अध्यक्ष निशा गुरुङ र तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष जयराम मोक्तानलाई सम्मान गरिएको छ । महोत्सवमा मकवानपुरे तामाङ कलाकारहरुको प्रस्तुति र तामाङ मौलिक भेषभुषा तथा खानाका परिकारहरु प्रदर्शन गरिएको थियो ।
तामाङ कलाकार संघ मकवानपुरको सहआयोजनामा महोत्सव भएको हो । महोत्सवमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियोे ।