हेटौँडाः छुट्टाछुट्टै २ स्थानबाट मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट मंगलबार २ जनालाई र हेटौँडा–१५, रातोमाटेबाट बुधबार २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो साढे १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–५, ढुङगुखोलाको बगरबाट २ जनालाई १७ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको जनाएको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका पर्सा जिल्लाको पर्सागढी नगरपालिका–८ का ४६ वर्षीय देवीलाल सहनी र पर्सागढी नगरपालिका–१ का ३२ वर्षीय रामनारायण रामलाई लागूऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सहनी र रामलाई हिरासतमै राखेर अनुसन्धान तथा कारवाही गर्न मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद प्राप्त भएको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार दिउँसो १२ बजेर ५ मिनेटको समयमा हेटौँडा–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट प्रहरीले १ सय ७५ किलो लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गमा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३ ००१ च १५८४ नम्बरको पिकअप गाडीलाई रोकी सुरक्षाजाँच गर्दा प्रहरीले लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले लागूऔषधसहित गाडी चालक बकैया गाउँपालिका–४ का २४ वर्षीय सुमन लामा र बकैया–११ का २४ वर्षीय सुशील भोलनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लामा र भोलनलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
