हेटौंडाः नेपाल सरकारको नारा छ, ‘बिहेवारी २० बर्षपारि’ । तर, मकवानपुरमा बालविवाह हुने मात्रै होइन २० बर्ष नै नपुगी आमा बन्ने किशोरीहरुको संख्या उल्लेख्य रहेको पाइएको छ । हेटौँडा उपमहानगरले २०८०/८१ मा मात्र ४ सय २१ गर्भवती किशोरीहरुको निशुल्क गर्भ परीक्षण गरेको छ । यता २०८०/८१ सालमै २ सय ४५ किशोरीले हेटौंडा अस्पतालमा शिशुलाई जन्म दिएका छन् । विद्यालय तहदेखि नै बालविवाह गर्न हुँदैन भनेर शिक्षा दिइन्छ । गरिबी र अशिक्षाका कारण व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन ।
सोमबार मकवानपुरकी निस्मा ब्लोन हेटौंडा अस्पतालमा प्रसूति वार्डमा आउनुभयो । मकवानपुरगढी गाउँपालिका-३, मक्रान्चुलीकी २५ वर्षीया ब्लोनले अस्पतालमा आइपुगेको केही घण्टापछि शिशुलाई जन्म दिनुभयो । यसरी गाउँमै सुविधा सम्पन्न बर्थिङ सेन्टर नहुँदा बागमती प्रदेशको राजधानीसम्म धाउन बाध्य हुनुहुन्छ निस्मा । उहाँले स्मरण गराउँदै भन्नुहुन्छ, २०७२ सालमा १६ वर्षको उमेरमै मकवानपुरगढीकै एक जना पुरुषसँग विवाह भयो । विवाह भएको केही महिनामै निस्माले छोरीलाई जन्म दिइन् । पहिलो सन्तान प्राप्त हुँदा निस्माको उमेर १६ वर्षको थियोे । “अहिले तेस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी छु । सानै उमेरमा विवाह गर्दा विभिन्न समस्याहरु झेल्नुपरेको भन्दै स्मरण गराउनुभयो । मंगलबार पनि १५ वर्षीया एक किशोरी हेटौंडा अस्पतालमा प्रसुती सेवा लिन आइपुगिन् । किशोरीकी परिवारले कुरा गर्न हिच्किचाए ।
हेटौँडा अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा २० वर्षभन्दा कम उमेरका २ सय ५५ किशोरी आमा बनेको हेटौंडा अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा २ सय ७६, आर्थिक वर्ष २०८०/८१ मा २ सय ४५ किशोरी आमा बनेको हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । २०८१ सालको साउनमा मात्र २६ जना, भदौमा १९ जना र असोजमा १२ जना किशोरी आमा बनेका छन् । हेटौँडा उपमहानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख भोला चौलागाईंले बाहिरी जिल्लाबाट पनि हेटौँडा अस्पतालमा सेवा लिन आउने भएकोले आमा बन्ने किशोरीको संख्या बढी देखिएको हुन सक्ने बताउनुभयो ।