हेटौंडाः गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समूहको ३१ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । शनिबार हेटौंडा–१८ हर्नामाडीस्थित गोरक्षनाथ माध्यमिक विद्यालयमा वन उपभोक्ता समूहको ३१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । वन उपभोक्ता समूहका अध्यक्ष रोशन थापाको सभाध्यक्षता तथा हेटौंडा–१८ का वडाध्यक्ष अनिल कुमार बानियाँको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । संघका अध्यक्ष थापाले वार्षिक प्रतिवेदनसँगै आयव्यय वितरण पेश गर्नुभएको थियो ।
वार्षिक साधारणसभाले समूहका सदस्य वा सदस्यका परिवारका सदस्यको मृत्यु हुँदा राहतस्वरुप ३ हजार रुपैयाँ दिने निर्णय गरिएको छ । २ सय ५० जनाको सहभागितामा भएको साधारणसभालाई सुन्दर दहालले सहजीकरण गर्नुभएको थियो । वन उपभोक्ता समूहलाई निरन्तर रुपमा सहयोग गर्दै आउनुभएका संस्थापक अध्यक्ष एव्म समाज सेवीहरु धमण्ड बहादुर बानियाँ, रामप्रसाद पराजुली, कुसाङ लामा, ओमभक्त भण्डारी र खेलाडी सुनिल घलानलाई सम्मान गरिएको छ । शारीरिकरुपमा अशक्त रहेका उपभोक्ता बद्री खड्का, रामकृष्ण कार्की, हिरामाया लोप्चन, तिलक बहादुर सुनारलाई समूहले १÷१ बोरा चामल सहयोग गरेको छ ।
कार्यक्रममा ज्योति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक कपिल पराजुली र सल्लाहकार राजन विश्वकर्माले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सुनाखरी टोल विकास संस्थाका अध्यक्ष मन कुमार न्यौैपाने, ज्योति सामुदायिक वन उपभोक्ताका अध्यक्ष रामबाबु खतिवडा, ज्योति मावि तथा हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष रम्तेल र सव–डिभिजन वन कार्यालय हर्नामाडीका रेञ्जर जमुना तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।