वडा अध्यक्षको उम्मेदवार हुने निश्चित भएपछि प्रेम लामा भ्लोनलाई बधाई दिँदै राप्रपा नेताहरु ।

हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्ष पदको उम्मेदवार टुंग्याएको छ । राप्रपाले प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको राप्रपाको जिल्ला र नगर कार्यसमितिको बैठकले वडा अध्यक्ष पदका लागि भ्लोनलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मतरुपमा गरेको हो । विभिन्न सामाजिक कार्यमा संलग्न रहेका भ्लोनलाई टिकट दिएको राप्रपा हेटौंडा उपमहानगरपालिका अध्यक्ष अरुण लामाले जानकारी दिनुभयो । हेटौंडा–१२ का स्थानीय बासिन्दा रहेका भ्लोनलाई जिताउन राप्रपाले चुनावी अभियान संचालन गर्ने तयारी समेत गरिएको उहाँले बताउनुभयो ।

यसअघि नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी र नेकपा माओवादी केन्द्रबाट रविन प्रधान वडा अध्यक्षको उम्मेदवार हुने निश्चित भइसकेको छ । २०७९ सालमा भएको निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित ललित बहादुर घलान जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित हुनुभएपछि वडा अध्यक्षको पद रिक्त रहँदै आएको थियो । कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी वडा सदस्य ज्ञानबहादुर श्रेष्ठले सम्हाल्दै आउनुभएको छ ।